सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अप्ठ्यारोबाट उम्कन खोज्दै गगन

अप्ठ्यारोबाट उम्कन खोज्दै गगन

पूर्वसंस्थापन समूह उस्तै परे पार्टी फुटाउने तयारीमा छ, त्यो पनि संसदको ४० प्रतिशतसहित । त्यसैले कांग्रेसले संसदीय दलको नेता छान्न पनि सकेको छैन ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८२, शनिबार

पोखरा/नेपाली कांग्रेस २०४६ सालपछि सम्भवत् पहिलोपटक सबैभन्दा संकटपूर्ण अवस्थामा छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकर्ता र परिवर्तनको मुख्य सारथि रहेको यो पार्टी यतिबेला आन्तरिक र बाह्य दुबै किसिमले कमजोर छ । गएको फागुन २१ गते भएको चुनावले यसलाई संघी संसदम कमजोर प्रतिपक्षीको बेञ्च दिलाएको छ । प्रत्यक्षमा १८ र समानुपातिकतर्फ २० सांसद भएको यो पार्टीले अहिलेसम्म संसदीय दलको नेता चुन्न सकेको छैन । विशेष महाधिवेशनमार्फत् सभापति बनेका नेता गगनकुमार थापा स्वयं हारेको निर्वाचनबारे कांग्रेसले समीक्षा गरिरहेको छ । तर, सबैभन्दा ठूलो समीक्षा चाहिँ पार्टीको आन्तरिक जीवनमा आएको हलचल, विशेष महाधिवेशनको आयोजना र हिजोको संस्थापन पक्षले गरेको असहयोग, विशेष महाविधेनविरुद्ध अदालतमा विचाराधीन मुद्दा र आउँदो १५ औं महाधिवेशनबारे गर्नुपर्ने देखिएको छ ।

विशेष महाधिवेशनमार्फत् तत्कालीन सभापति शेरबहादुर देउवा र उनको समूहलाई बलात हटाइएको भन्दै ठूलो समूह असन्तुष्ट छ । त्यो गुटमा रहेका नेताहरु उस्तै परे नयाँ पार्टी गठन गर्ने तयारीमा छन् । नयाँ पार्टी गठन हुँदा संसदबाटै ४० प्रतिशत सांसद फुटाउने उनीहरुको गोप्य योजना छ । समानुपातिकतर्फ छानिएका अधिकांश सांसद निवर्तमान सभापति शेरबहादुर देउवा खेमाका रहँदा अहिलेका सभापति गगनलाई अगाडि बढ्न गाह्रो छ । असन्तुष्ट पक्षसँग वार्ता जारी रहे पनि कतिबेला के हुने हो भन्न सकिने अवस्था छैन । गगन यतिबेला एक्लै अगाडि बढ्छु भन्ने अवस्थामा छैनन् । सबैलाई कसरी मिलाउने र कति त्याग गर्ने भन्ने कुरा पनि सायद उनी गम्दै छन् । त्यसैले चुनावको समीक्षाको लागि शुक्रबार पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रममा उनी संयमित देखिए । उनले पार्टीमा सबैलाई मिलाएर लैजाने बताए । यद्यपि, पार्टी कार्यकर्तालाई उनले एकता र अनुशासनको आवश्यकता रहेको सुनाउन भुलेनन् ।

‘म पार्टी सभापतिको जिम्मेवारीमा छु, सबैभन्दा बढी लचक र सबैलाई मिसाउने कोसिस गर्छु । पार्टीलाई मिलाउनु छ, अधिवेशन गर्नुपर्छ । पार्टीमा एकता र अनुशासनको आवश्यकता छ,’ सभापति थापाले भने ।

एकता र अनुशासनकै आधारमा उनले २०८३ सालमा पार्टीलाई रिब्राण्डिङ गर्ने बताइरहँदा असन्तुष्टलाई कसरी समेट्ने भन्ने स्पष्ट धारणा पनि उनले राखेनन् । नत, उनले यसअघिजस्तो पार्टीभित्रै रहेर पनि पार्टी हितविपरीत काम गर्नेहरुमाथि आक्षेप नै लगाए । बरु, उनले आउँदै गरेको २०८४ को प्रदेश र स्थानीय तहको चुनावको कुरा गरे ।

सभापति थापाले २०८४ मा हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । त्यसको लागि कांग्रेसले २०८३ मा मिहिनेत गर्ने उनको जिकिर छ ।

उनले पार्टीका कार्यकर्तालाई रक्षात्मक नबन्न र कमजोर नबन्न पनि आग्रह गरे । ‘हामी कमजोर, डिफेन्सिभ हुनुपर्ने जरुरी छैन । यो आत्मरक्षा, आत्मनिन्दाको समय होइन, आत्मसमीक्षाको समय हो । समीक्षा गरौँ, नयाँ कुराहरु खोजौँ,’ थापाले भने ।

सभापति थापाले भने, ‘यसकै आधारमा हामीले ०८३ सालमा कांग्रेसलाई रिब्राण्डिङ गर्छौँ, पुनर्संरचना पनि गर्छौँ, कांग्रेसको मूल्य र मान्यतामा टेकेर पुनर्परिभाषित पनि गर्छौँ । यसलाई नवीकरण पनि गर्छौँ ।’ २०८३ को मिहिनेतकै आधारमा ०८४ मा कांग्रेस पहिलो पार्टी बन्ने उनको भनाइ छ । ‘२०८४ सालमा हुने स्थानीय र प्रदेशको चुनावमा फेरि पहिलो पार्टी बनाउने गरि हामीले २०८३ मा मेहनत गर्छौँ, दुख गर्छौँ,’ उनले भने, ‘पार्टीलाई ठीक ठाउँमा लैजान सबैको साथ रहन्छ भन्ने विश्वास छ ।’

२०८३ वैशाखदेखि नयाँ वर्षमा कांग्रेसको भूमिकाबारे छलफल गर्ने थापाको भनाइ छ । उनले अबको सदस्यता डिजिटल हुने र नवीकरण नगर्नेको खारेज हुने बताए ।

‘म काठमाडौंको वडा नं. ३० को क्रियाशील सदस्य हुँ । अब के हुन्छ, वैशाख १ गते म वडा नं. ३० मा लगेर फर्म भर्छु, त्यो भरेर बुझाउँछु, बुझाएपछि वडाले निर्णय गर्छ । निर्णयपछि मेरो क्रियाशील अद्यावधिक हुन्छ,’ थापाले भने, ‘नवीकरणपछि मैले क्रियाशील होइन, कांग्रेस आइडेन्टिटी कार्ड पाउँछु । त्यो डिजिटल हुन्छ र एकपटक पाएपछि पहिलेजस्तो फर्म भर्न पर्दैन । नवीकरणको शुल्क नबुझाउनु भएको तिर्नुहुन्छ । मेरो वडामा ३४३ जना पार्टीको सिस्टममा हुनुहुन्छ, त्यो अब पार्टीको अभिलेखमा रहन्छ । तर, वैशाखमा जम्मा ४३ जनामात्र अद्यावधिक गर्न आउनुभयो भने ४३ जनामात्रै नेपाली कांग्रेसको सदस्य रहन्छ । अहिलेको विधानले पनि त्यही भन्छ ।’

थापाका अनुसार अब नवीकरण गर्नेमात्रै वा नयाँ सदस्य लिनेमात्रै कांग्रेसको सदस्य रहन्छन । ‘४३ जनामात्र रहन पनि सक्छ, नयाँ ३० जना थप हुन पनि सक्छ । तर, जतिले लिनुहुन्छ, उहाँले सार्वजनिक रुपमा नै नेपाली कांग्रेसको सदस्य हो भनेर भन्न सक्नुपर्छ,’ थापाले भने ।

केसीलाई अभिभावक बन्न आग्रह
नेपाली कांग्रेसका उपसभाप ति विश्वप्रकाश शर्माले संसदीय दलमा दाबी छोड्न नेता अर्जुननरसिंह केसीलाई आग्रह गरेका छन् । कास्कीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले केसीलाई सबैको साझा अभिभावक बन्न आग्रह गरे । कांग्रेस संसदीय दलको भूमिकामात्रै नखुम्चिन केसीलाई उपसभापति शर्माको सुझाव छ ।

‘उहाँले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै । त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ,’ उनले भने । संसद्को सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतमा केसी सबै दलको अभिभावक बन्नुपर्ने उनको भनाइ छ । पार्टीले केसीलाई सबै दलको साझा अभिभावका रूपमा हेर्न चाहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->