सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अलपत्र रणबाङ–दरबाङ सडक निर्माण सक्न दबाब

अलपत्र रणबाङ–दरबाङ सडक निर्माण सक्न दबाब


  • अमृत बास्कुने
  • चैत्र २८ २०८२, शनिबार

म्याग्दी/जिल्लाको मालिका गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो चौमासिक तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई भएको छ । मालिका गाउँपालिका ६ छ्यारछ्यारेमा सार्वननिक सुनुवाइ सम्पन्न भएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिश्वचन्द्र ढकालले चालु आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माण प्रगति, सेवा प्रवाह र उपलब्धी विवरण प्रस्तुत गरेका थिए । ढकालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, चालुतर्फ १६ करोड ३१ लाख ९ हजार ४२२ रुपैयाँ तथा पुँजीगत तर्फ एक करोड ४७ लाख ६८ हजार ७४० रुपैयाँ खर्च भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि चालुतर्फ ३४ करोड ७३ लाख ६७ हजार ८४९ र पुँजीगततर्फ १६ करोड १७ लाख ६९ हजार ५०० रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

गाउँपालिका भित्र चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका एक सय ४० योजना मध्ये २१ वटा सम्पन्न भएका छन् भने ९४ वटा योजना सम्झौता भएर कार्यान्वयनको चरणमा रहेको छ । ठेक्कामार्फत कुल चार वटा योजना सबै सम्झौता भएर कार्यान्वयनमा गइसकेका छन् भने कोटेशनमार्फत ५ योजना पनि सम्झौता भएका छन् । हालसम्म गाउँपालिकाका सबै वडामा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराई गरी आएको र गएको गरी कुल सात सय २५ वटा व्यक्तिगत घटना दर्ता भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागी नेकपा एमाले मालिका गाउँपालिकाका कार्यवाहक अध्यक्ष सन्तोष सुवेदी, जनमोर्चाका छेमबहादुर बिक, होटल व्यवसायी अमृत सापकोटा एवम् गाउँपालिका भित्रका सर्वसाधारणहरु कुलबहादुर सुनार, नौली घर्ती, किसानी माबि बिमका जंगबहादुर गर्बुजा, देविस्थानकी पिपला सिंउथानी, चक्रबहादुर विश्वकर्मा, नन्दप्रसाद न्युरे लगायतले आफ्नो गुनासो राखेका थिए । गुनासो राख्ने अधिकांशले बेनी–दरबाङ सडक खण्डअन्तर्गत रणबाङ–दरबाङ सडक निर्माण अलपत्र हुँदा पश्चिम म्याग्दीबासीले सास्ती खेप्नुपरेको बारेमा चासो राख्न दवाव दिएका थिए ।

त्यस्तै दरबाङ बजार क्षेत्रको फोहोर व्यवस्थापनको दिगो उपाय खोज्न समेत सचेत गराएका थिए । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया, बजार व्यवस्थापन, शिक्षा, बजारमा ढल निकास, स्वास्थ्य बिमाको औषधीको समस्या, योजना कार्यान्वयनमा पारदर्शिता, कार्यालयबाट प्रवाह हुने सवाप्रवाहबारे गुनासो राखेका थिए ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, प्रमुख प्रशासकीय अधिकृत ढकाल, वडा नम्बर ६का वडा अध्यक्ष पथबहादुर रोका, योजना अधिकृत सोम बहादुर केसी स्वास्थ्य शाखा संयोजक सन्तुकुमारी कार्की, वडा नम्बर ५ का सचिव धर्मकान्त पौडेलले कार्यक्रममा उठेका सवालहरुको जवाफ दिएका थिए ।

गाउँपालिका अध्यक्ष गर्बुजाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत पुर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरेको बताए । उनले जग्गा खरिद प्रक्रियामा दुःख दिने र अल्झाउने नियतले बिनाप्रमाण पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने गरिएको बताएका थिए ।

सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेकाले समस्या भएको अध्यक्ष गर्बुजाले सुनाए ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले सार्वजनिक सुनुवाइमा सहभागिताको लागि सार्वजनिक सुचना लगायत विभिन्न माध्यमबाट खबर गरिएको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई थप सरल र सहज बनाउने बताए । सोही अवसरमा इलाका प्रहरी कार्यालय दरबाङको पनि नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पत्रकार महासंघ म्याग्दीका शाखाका सचिव ठाकुरप्रसाद आचार्य र कोषाध्यक्ष साधन राम्जालीले कार्यक्रमको सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->