शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बहुप्राबिधिकको बाटोमा खरबाङको त्रिभूवन मावि

बहुप्राबिधिकको बाटोमा खरबाङको त्रिभूवन मावि

विद्यालयले औपचारिक र अनौपचारिक क्षेत्रमा सीप विकास र स्वरोजगारमुलक प्राविधिक शिक्षाको तयारी गरेको छ । त्यसका लागि चालु शैक्षिक शत्रमै ३ महिने वा सो भन्दा बढी समय तालिम दिएर विद्यार्थीलाई कमाउन सक्ने बनाउन लागेको प्रधानाध्यापक ढालमणी भण्डारीले बताए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८३, आइतबार

बागलुङ/यतिबेला विद्यालयहरुमा भर्ना अभियान संचालन भैसक्नुपथ्र्यो । रमाएर पढ्न जाने समय प्राविधिक कारणले ढीला भएको छ । तर बागलुङको सदरमुकामदेखि ६५ किमी पश्चिमको बडिगाड गाउँपालिका वडा नं. २ को खरवाङस्थित त्रिभुवन माविले बहुप्राविधिक बनाएर विद्यार्थीको आर्कषण बढाउन लागेको छ ।

विद्यालयले औपचारिक र अनौपचारिक क्षेत्रमा सीप विकास र स्वरोजगारमुलक प्राविधिक शिक्षाको तयारी गरेको छ । त्यसका लागि चालु शैक्षिक शत्रमै ३ महिने वा सो भन्दा बढी समय तालिम दिएर विद्यार्थीलाई कमाउन सक्ने बनाउन लागेको प्रधानाध्यापक ढालमणी भण्डारीले बताए ।

‘मावि तहका विद्यार्थीलाई अनौपचारिक प्राविधिक शिक्षामा पनि जोड्दा स्वरोजगार बन्न सक्छन्’ भण्डारीले भने, ‘हरेक पालिका तहमा बहुप्राविधिक शिक्षा आवस्यक छ ।’ यसअघि सरकारले ‘एक निर्वाचन क्षेत्रमा एक प्राविधिक’ विषयको विद्यालय राख्ने योजनामा यो विद्यालय सूचिकृत छ । तर एउटै प्राविधिक विषयले बजार र समाजको आवस्यकता पुरा नभएको उनले बताए ।

बहुप्राविधिक विद्यालयका लागि सरकारले बजेटको व्यवस्थापन नगरेकोले एकेडेमिक रुपमा तत्काल कक्षा संचालन गर्न नसकेपनि छोटो समयका तालिम संचालन गर्ने उनले बताए । ‘अबका युवा समयमा कमाउने माध्यममा जोडिन चाहन्छन्, त्यो हामीले दिनुपर्छ’ उनले भने, ‘प्राविधिक भनेको पढेर फेरी जागिरका लागि धाउने होइन, आँफै कमाउने हो ।’

शैक्षिक प्रमाणपत्रले मात्र कमाइ गर्न नसक्ने भएकोले स्वरोजगारमुलक तालिममा जोड्न लागेको उनले बताए । त्यसका लागि अटो मोबाइल्स्, इलेक्ट्रीक, इलेक्ट्रोनिक्स जस्ता सीप तत्काल दिने योजना विद्यालयले बनाएको छ ।

दिर्घकालिन योजनाका लागि भने शिक्षा मन्त्रालयसँग जोडिएर थप प्राविधिक शिक्षा जोड्ने उनले बताए । सिभिल इन्जिनियरिङ लगायतका आवस्यकताका विधामा औपचारिक शिक्षा जोड्ने विद्यालयको योजना छ । गत मंसिरमा विद्यालयले महायज्ञ लगाएर झण्डै ३ करोड रुपैयाँ संकलन गरेको छ । उक्त बजेटबाट तत्काल छोटो अवधिका शिक्षा थाल्ने र राज्यको श्रोतमा जोडिएपछि दिर्घकालिन अध्यापन संचालन गर्ने भण्डारीले बताए ।

विद्यालय संचालनको कोष बनाउन मंसिरको २१ देखि २८ गतेसम्म श्रीमद भागवत धनधान्यान्चल सप्ताह महायज्ञ लगाइएको थियो । उक्त समयमा संकलित रकममा अन्य दाता समेत थपेर आगामी शैक्षिक सत्रदेखिनै यो अभियान शुरु गर्ने योजना बनाइएको हो । सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने तयारी भएको हो ।

२०१७ सालमा स्थापना भएको त्रिभुवनले स्थापनाको ६६ औं वार्षिकोत्सव मनाएको छ । हीरक महोत्सवको रुपमा मनाएको वार्षिकोत्सवले बहुप्राविधिक विद्यालय बनाउने योजनालाई निर्णय समेत गरेको हो । विद्यालयले मनाएको स्वर्ण महोत्सवमा दश वर्षअघि संकलन गरेको ८० लाख रुपैयाँले विद्यालयको भौतिक पुर्वाधार बनाउनुको साथै अक्षयकोषमार्फत विद्यालयमा निजी श्रोतका शिक्षक राखेर समयसापेक्ष अंग्रेजी माध्यम, कम्प्युटर ल्याब र बाली विज्ञान विषय पढाउन थालिएको थियो ।

महायज्ञमा संकलित रकमलाई अन्य दाताबाट बढाएर ५ करोडको अक्षयकोषमार्फत बहुप्राविधिक कार्यक्रम शुरु गरिने लक्ष्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु भुषालले सुनाए । त्यो कोषलाई सदुपयोग गर्दै बडिगाड गाउँपालिका मात्र नभइ गलकोट र गुल्मीको मुसिकोट क्षेत्रको समेत आर्कषक शैक्षिक गन्तव्य बनाइने छ । पश्चिम बागलुका ढोरपाटन, निसी र तमानका स्थानीयले समेत यो विद्यालयको भरपुर सदुपयोग गर्न सक्ने वातावरण पनि बन्दै गएको भुषालले जानकारी दिए ।

हाल यो विद्यालयमा १ हजार १ सय ८७ विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय यो विद्यालय आसपासका नीजि विद्यालय समेत बन्द भै सामुदायिकमा पढाउने लहर पनि चलेको छ । यसैक्रममा केही वर्षदेखि यहाँका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीले यही विद्यालयमा पढ्न थालेका छन् । ‘शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबालिका पनि पढ्न थालेपछि जनविश्वास पनि बढेको छ’ विद्यालयका शिक्षक कमल पौडेलले भने, ‘यो विश्वासले विद्यालयले गुणस्तर बढाउने अवसर पनि पाएको छ ।’

मध्यपहाडी लोकमार्गको छेवैमा भएकोले विद्यालयले बस संचालन गरेपछि टाढादेखि बालबालिका यहाँ पढ्न आउन थालेका छन् । गुणस्तरीय सेवाबाट प्रभावित भएकाहरुले विद्यार्थी पठाउने गरेकोले संख्या पनि धेरै भएको उनको भनाइ छ ।

हाल ५२ जना शिक्षक रहेकोमा १६ जना मात्रै स्थायी दरबन्दीका छन् । अन्य अधिकांसलाई अभिभावकको दान सहयोगबाटै राखेर तलबभत्ता दिइएको छ । अतिरिक्त शिक्षक तथा पढाइको समयसमेत अतिरिक्त व्यवस्थापन गरेकै कारण विद्यालय गुणस्तरमा अब्बल बनिरहेको हो । कोरोना कालमा यहाँ सर्तकता अपनाएर पढाई संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->