
बागलुङ/पर्यटकीय क्षेत्रमा जाने बाटो सहज बनाउन चालु वर्ष बागलुङमा ९४ वटा पदमार्ग बन्दैछन् । एकीकृत सेवा कार्यालयले जिल्लाका पर्यटकीय संभावना भएका स्थानमा ती पदमार्गको काम गरेको हो ।
चालु वर्षको साँढे ९ महिनामा ८६ वटा योजना सम्झौता गरेर अगाडि बढीसकेको कार्यालयका सूचना अधिकारी विष्णुनाथ शर्माले जानकारी दिए । ८ योजना भने अझै सम्झौता भएका छैनन् । पर्यटन प्रवद्र्दन गर्ने लक्ष्यले ती योजनाहरु बनेका थिए । यसरी सम्झौता भएका अधिकांस योजना स्थानीय श्रोतसाधनबाट निर्माण हुनेछन् ।
संचालिन योजनामा २१ योजना सम्पन्न भैसकेका छन् । ती मध्ये १० लाख लागतको बालप्रभा आधारभूत विद्यालयदेखि जलजला जाने बागलुङ नगरपालिका १३ को योजना सम्पन्न भैसकेको हो । त्यस्तै गलकोट नगरपालिका ५ को सिमलबोट होमस्टे जाने पदमार्ग पनि पुरा भएको हो । बनेका सबै योजनामा ढुंगाका सिंढी लगाएर पदमार्ग बनाइएको छ भने बिश्राम स्थलहरु पनि काठ र ढुंगाबाट परम्परागत रुपमा बनेका छन् । यो अभियानमा अधिकांस ५ लाखदेखि १० लाखका योजना छन् ।
विशेषगरी मौलीक कला र श्रम प्रयोग गरेर पदमार्ग निर्माण गर्दा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वासले यस्ता योजना संचालन गरिएको कार्यालयका प्रमुख शिव शर्माले बताए । उनका अनुसार स्थानीयले मौलीक सामाग्री प्रयोग गर्दा होमस्टे, धार्मिक तथा पर्यटकीय क्षेत्रको समेत पहिचान र प्रवद्र्दन हुने भएकोले सोही प्रकृतिका योजना समावेश गरेको उनले जानकारी दिए ।
समुदाय सक्रिय भएका अधिकांस स्थानमा साझेदारीमा काम भएका छन् । १० लाखको योजना बनाउन स्थानीय सक्रिय बन्दा १५ लाख सम्मको काम भएको हो ।
समुदाय परिचालन गर्न नसकीने केही स्थानमा भने ढलान वा सिमेन्ट प्रयोग भएका पदमार्ग पनि बनेका छन् । ती मार्गलाई पनि सकेसम्म मौलीक बनाउने प्रयास भएको शर्माले जानकारी दिए । ९४ योजना छनौट भएपनि बैसाख १० गतेसम्म ८ वटा योजना भने सम्झौता भएका छैनन् । ती योजनामा आन्तरिक विवादहरु देखिएपछि योजना सम्झौता नभएका हुन् ।
ढोरपाटन उपत्यकामा निर्माण गर्न लागिएको एक योजना भने स्थानीय उपभोक्ता समिति गठनमा ढीलाइले सम्झौता हुन नसकेको हो । कार्यालयका शाखा अधिकृत नारायण रिजालका अनुसार काठेखोला गाउँपालिका ६ को किम्बोटदेखि वडा नं. ४ तंग्राम जोड्ने ७ लाखको योजना स्थानीयको विवादले सम्झौता नभएको हो ।
त्यस्तै बागलुङ नगरपालिका ५ मा बन्ने बिपि स्मृति पार्क, काठेखोला गााँपालिका ३ को सम्सास घाट, थाम किलाडाँडा पदमार्ग पनि अझै सम्झौता हुन नसकेको हो । सम्झौता नभएका योजनाका उपभोक्ता अहिलेसम्म कार्यालयमा सम्पर्क गर्न पनि नआएका हुन् । उक्त कार्यालयले अघिल्लो वर्ष ५२ वटा पदमार्ग बनाएको थियो । ती पदमार्गले ग्रामीण क्षेत्रका होमस्टे जाने सडक सहज भएको, मोटरबाटो बनाउनुपर्ने खर्च जोगिएको, बाढी पहिरो नियन्त्रणमा सहजीकरण भएको स्थानीयले बताए । पदमार्गले ग्रामीण परिवेश आर्कषक भएको गलकोट नगरपालिका ५ का अध्यक्ष पवन हमालले बताए । यहाँ दुइ आर्थिक वर्षमा आधादर्जन आर्कषक पदमार्ग बनेका छन् ।





