बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन जग्गा पाएको छ । विभिन्न संघसंस्थाको सहयोगमा पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरेर हस्तान्तरण गरिएको हो ।
बिहुँकोट समाज जापान, बिहुँकोट विकास मञ्च र जापान समाज बिहुँकोट लगायतका संघसंस्था र स्थानीयबासीले चन्दा संकलन गरेर काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँको आमपाटामा ६ रोपनी जग्गा खरिद गरेर पालिकालाई हस्तान्तरण गरेको वडाध्यक्ष तथा जग्गा व्यवस्थापन समितिका संयोजक बृहस्पति शर्मा कँडेलले जानकारी दिए ।
प्रतिरोपनी ७ लाखका दरले ४२ लाख रुपियाँमा ६ रोपनी जग्गा भवनका लागि खरिद गरिएको हो । ‘४ वर्षको प्रयासपछि सबै प्रक्रिया पु¥याई पालिकालाई सरकारी प्रयोजनार्थ जग्गाधनी–पूर्जा हस्तान्तरण गरियो’’ मालपोत कार्यालयमा भेटिएका संयोजक कँडेलले भने, ‘स्थापनाको १० वर्षको बल्ल भवनका लागि जग्गा प्राप्ती भयो ।’
लामो समयको अथक प्रयासपछि प्रशासनिक भवन बनाउन जग्गा प्राप्ति भएको पालिका अध्यक्ष राजु थापाले बताए । जग्गा प्राप्तीमा भूमिका खेल्ने र निशुल्क जग्गा उपलब्ध गराउने दाताप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ । ‘जग्गा प्राप्ति र पालिकाको केन्द्र विवाद टुंगिएको छ, अब छिट्टै प्रदेश र संघीय मन्त्रालयको प्रक्रिया पु¥याएर प्रशासकीय भवन बनाउने काममा लाग्छौं,’ अध्यक्ष थापाले भने ।
काठेखोलाको १७ औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत निर्णय गर्दै गाउँपालिकाको प्रशासनिक भवन आमपाटामा निर्माण गर्ने निर्णय गरेको थियो । राजनीतिक दलबीच असहमति र स्थानीयको असहयोगका कारण लामो समयदेखि पालिकाको केन्द्र काठेखोला–२ को अक्षते कि वडा नं. ६ को आमपाटा भन्ने विवाद लामो समय चल्यो ।
सर्वदलीय बैठकले अक्षते र सुल्डाँडालाई प्रशासनिक केन्द्र मान्ने र भवन आमपाटामा बनाउने सहमति जुटाएपछि १७ औँ गाउँसभामा सर्वसम्मत निर्णय गरिएको हो । सदरमुकामसँग जोडिएको काठेखोला अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाले भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाले बल्ल जग्गा प्राप्त गरेको हो ।
पालिकाको आफ्नै भवन नहुँदा भाडाको घरबाट असहज रुपमा सेवाप्रवाह गर्दै आएको छ । हरेक वर्ष ७ लाख बढी घरभाडा तिर्दै आएको पालिकाले अहिले भीमसेन मविको भवनबाट सेवा दिईरहेको छ । बागलुङका नौ पालिकाले स्थायी भवन निर्माण गरिसकेका छन् ।





