पोखरा/फ्रि मिडिया नेटवर्कलाई क्रियाशिल बनाउनका लागि कार्यविधि निर्माण गरिने भएको छ । फ्रि मिडिया नेटवर्क गण्डकी प्रदेश समितिको सोमबार बसेको बैठकले संस्थालाई क्रियाशिल बनाउनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको हो ।
कार्यविधि निर्माणका लागि नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवम् संस्थाका संयोजकको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।
सदस्यहरुमा सह न्यायधिवक्ता इन्द्र प्रसाद पन्थी, बार एसोसिएसन उच्च अदालत पोखराका अध्यक्ष शालिग्राम भट्टराई, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख नीतु गर्तौला, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि भानु शर्मा, डाक्टर बुद्धिबहादुर थापा, र इन्सेक गण्डकीका गणेश भण्डारी रहेका छन् ।
उनीहरुले फ्रि मिडिया नेटवर्कलाई क्रियाशिल बनाउनका लागि कार्यविधिको आवश्यक रहेको औल्याएपछि सो निर्णय भएको संयोजक रमेश पौडेलले जानकारी दिए । उनका अनुसार फ्रि मिडिया नेटवर्क विशुद्ध नागरिकको अधिकारको विषयमा वकालत गर्ने संस्था हो । जसले कानून मिचेर नागरिकमाथि हुने अन्यायका विरुद्धमा खबरदारी संगै समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।
यस्तै छलफमा बढ्दो मिडियाप्रतिको अविस्वास र पछिल्ला समय सामाजिक सञ्जालमा हुने मिस इन्फरमेसन र डिसइन्फरमेसन बारेमा समेत सुसुचित गराउन आवश्यक रहेको बताएका छन् ।





