बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जिल्ला समन्वय समितिमार्फत यहाँका दशवटै पालिकाका प्रमुखको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ । सरकारी विज्ञापन सरकारी सञ्चार माध्यामलाई मात्र दिने सरकारको निर्णयको विरोध गर्दै आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघले बागलुङका पालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।
पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले समन्वय समितिका सदस्य जशोदा शर्मालाई जिल्लाका १० वटै स्थानीय तहमा पठाउने गरी ज्ञापनपत्र बुझाएको महासंघका सचिव नारायण रिजालले जानकारी दिए ।
सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णयसहित सरकारले चैत १८ गते जारी गरेको परिपत्रले प्रेस स्वतन्त्रता र नीजि सञ्चार माध्यामको अस्तित्व माथि प्रतिकुल असर गर्ने भएकाले निर्णय फिर्ता लिन आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको रिजालले बताए । महासंघले जिल्ला समन्वय समितिमार्फत सरकारी कार्यालय, पालिकामार्फत प्रकाशन प्रशारण हुने सूचना, विज्ञापनमा सहजिकरण गरिदिन आग्रह गरेको छ ।
सरकारको यसप्रकारको निर्णयले स्थानीय तह र पत्रकारबिचको सम्बन्धमा दुरी बढाउने काम गरेकोले निर्णय नमान्न आग्रह गरिएको उपाध्यक्ष आचार्यले बताए । ज्ञापनपत्र बुझ्दै शर्माले सबै स्थानीय तहमा छिट्टै नै पठाउने प्रतिवद्धता व्यक्त गरिन । महासंघले यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाएको थियो ।





