पोखरा/रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। नेटवर्कको समस्याका कारणले घटनाको विषयमा धेरै जानकारी आइनसकेको उनले बताए। प्रहरी टोलीसँग निरन्तर सम्पर्क गर्ने प्रयास भइरहेको छ।
प्रहरी निरीक्षक नेपालीका अनुसार थप ३ जनाको मृत्यु भएको पुष्टी भएको छ । अहिलेसम्म मृतकको संख्या २० पुगेको छ ।





