बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित उत्तरगंगा ढोरबराह मन्दिरमा बैशाख पूर्णिमाको दिन शुक्रबार भक्तजनको भीड लागेको छ । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको उपत्यका सडक सञ्जालले जोडिएपछि उत्तरगंगा ढोरबराह मन्दिरमा पुग्ने भक्तजनको संख्या वर्षेनि बढ्दै गएको छ ।
उत्तरगंगा ढोरबराहको पूजा गर्न बैशाख पूर्णिमाको अघिल्लो दिन नै भक्तजनहरु ढोरपाटन उपत्यका पुग्ने गर्छन् । ढोरबराह मन्दिरमा भेँडाको बलि दिने प्रचलन समेत छ ।
ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध ढोरबराह भगवानको पूजाअर्चना गरे मनोकामना पुरा हुने धार्मिक मान्यता छ । मनोकांक्षा पूरा गर्न ढोरबराहको नाममा भाकल गर्ने र भेँडाको बलि दिँदा फल प्राप्ती हुने विश्वास छ ।
उत्तरगंगा ढोरबराह मन्दिरमा बैशाख पूर्णिमा, जनैपूर्णिमा र चण्डी पूर्णिमामा विशेष पूजाका साथै बलि दिने चलन रहेको छ । उत्तरगंगा ढोरबराहमा मेला भर्न छिमेकी जिल्ला म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत मात्र नभई सडक सुविधाले देशभरबाट श्रद्धालुहरु आउने गरेको वडा नं. ९ का वडा अध्यक्ष खिमबहादुर घर्ति मगर जानकारी दिए ।
उत्तरगंगा नदीको उद्गमस्थलमा ढोरबराहको थान रहेकोले ‘उत्तरगंगा ढोरबराह’ भन्ने गरिएको हो । यहाँ सातमुले, मुल, बराह मुल र अपुता मुल गरी तीन मुल छन् । सातमुले मुललाई उत्तरगंगा मुल पनि भनिन्छ । यसै मुलबाट बाइसधारा निस्केका छन् । बराह मुलमा रहेको बहरे गोरुलाई यहाँ बराह देवताको रुपमा पुज्ने गरिन्छ ।
उत्तरबाहिनी नदीलाई पवित्र नदी मानिन्छ । यसले छोरा नहुने पुरुषले छोराको वर माग्ने, पृतिलाई तर्पन दिने र मृतकका कपडा बगाउने गरिन्छ । छोराको वर माग्नेले बाइस धारामा नुहाएर बहेरे गोरुलाई पुज्ने र २२ जोर धजा चढाउने गर्दछन् । उत्तरगंगा बराह देवतालाई मागेको वर पुरा भएपछि, ढोरबराह मन्दिरमा भेडाको साँढ बलि दिने प्रचलन रहेको छ ।
ढोरपाटनमा उत्तरगंगा ढोरबराहसंगै रुद्रताल, छेन्टुङ गुम्बालगायतका मठमन्दिर छन् । तिब्बती शरणार्थीहरुको जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने उत्कृष्ट गन्तव्य पनि हो । ढोरपाटन उपत्यका पुग्ने अधिकांश पर्यटक घोडचडीमार्फत उपत्यकाको फन्को मार्ने र उपत्यकाको माथिल्लो भाग ‘बुकीपाटन’सम्म पुग्ने गर्छन् । कुनै समय विदेशी शिकारी मात्रै पुग्ने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकको घुँईंचो लाग्ने गर्छ ।





