काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश-२०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८३ राष्ट्रपतिले जारी गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गरेका हुन्।
यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए। त्यस्तै, बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए।
सरकारले आठ वटा अध्यादेश पठाएको थियो। त्यसमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। अझै दुई वटा अध्यादेश राष्ट्रपतिको कार्यालयमा विचाराधीन छन्। ‘संवैधानिक परिषद् र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश छलफलकै चरणमा छ,’ स्रोतले भन्यो, ‘केही नेपाल ऐनमा २५ बढी कानुन संशोधनका लागि सिफारिस भएको छ ।’






