आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा महानगरपालिकाद्वारा सुकुम्वासी समस्या समाधानमा पहल भइरहेकाले आन्दोलन नगर्न अपिल

पोखरा महानगरपालिकाद्वारा सुकुम्वासी समस्या समाधानमा पहल भइरहेकाले आन्दोलन नगर्न अपिल


  • ढाेरपाटन संवाददाता
  • बैशाख २१ २०८३, सोमबार

पोखरा/ पोखरा महानगरपालिकाले सुकुम्वासी समस्या समाधानका लागि देशभरमै सम्भवतः सबैभन्दा छिटो निस्सा वितरण गर्ने कार्य सम्पन्न गरेको जनाएको छ। महानगरपालिकाका अनुसार हालसम्म १९ हजार ८५६ परिवारलाई निस्सा वितरण गरिएको छ।

महानगरपालिकाले निस्सा प्राप्त नागरिकहरूको यथार्थ छानबिन गरी, उनीहरू बसोबास गरिरहेको स्थान सुरक्षित तथा सरकारी परियोजनाका लागि आवश्यक नभएको खण्डमा सोही स्थानमा व्यवस्थापन गरिने जनाएको छ। यदि उक्त स्थान जोखिमयुक्त वा परियोजनाका लागि आवश्यक देखिएमा, नियमानुसार वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाइने महानगर प्रमुख धनराज आचार्यले बताएका छन् ।

यसैबीच, पछिल्ला दिनहरूमा अतिक्रमित स्थल खाली गराउने सम्बन्धी सूचना जारी भएपछि केही समूहहरूले सुकुम्वासी बस्तीलाई मानव ढालका रूपमा प्रयोग गर्दै अनावश्यक उत्तेजना र आवेग सिर्जना गर्ने प्रयास गरेको उनको भनाइ छ। यसप्रति दुःख व्यक्त गर्दै महानगरपालिकाले यस्तो गतिविधि नगर्न आग्रह गरेको छ।

मेयर आचार्यले निस्सा प्राप्त नागरिकहरूलाई आन्दोलनमा नउत्रिन आग्रह गर्दै महानगरपालिका नै उनीहरूको समस्या समाधानका लागि जिम्मेवार ढंगले कार्यरत रहेको स्पष्ट पारेका छन्। साथै, कसैको स्वार्थका लागि प्रयोग नहुन पनि उनले अनुरोध गरेका छन्। महानगरपालिकाले ‘संघर्ष समिति’ गठन गर्नुको सट्टा ‘सहयोग तथा सहजीकरण समिति’ गठन गरी आफ्ना माग तथा सुझावहरू औपचारिक रूपमा महानगरपालिका वा सम्बन्धित वडा कार्यालयमा पेश गर्न पनि आह्वान गरेको छ।

पोखरा महानगरपालिकाले सुकुम्वासी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->