काठमाडौं / सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारको तर्फबाट नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्रीले आफ्नो नोट जारी गरिसकेको छ । भारत सरकारले पनि सहकार्यबाटै यसको निकास निकाल्नुपर्छ भनेको छ । सीमा विवाद भइरहेको भू-भाग नेपालको हो भन्नेमा सरकार प्रतिबद्ध छ । बाँकी दुई देशका सरकारबीच सहकार्य र संवादबाट हुने कुरा हो ।’
परराष्ट्र मन्त्रालयले भारत र चीनलाई उक्त भू-भागमा कुनै गतिविधि नगर्न कूटनीतिक नोट पठाएको छ भने भारतले मानसरोवर जाने बाटो पुरानो विषय भएको दाबी गरेको छ।
भारतले केही दिन अघि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ ।





