बागलुङ/अविरल वर्षासंगै परेको चट्याङले पश्चिम बागलुङको बडिगाडमा एक जनाको ज्यान गएको छ । चट्याङले दर्जनबढी घरमा क्षती पुगेको छ ।
आइतबार साँझ बडिगाड गाउँपालिका वडा नं. १ सिरानका ४८ वर्षिय रुमबहादुर भुजेलको चट्याङ लागेर ज्यान गएको वडा अध्यक्ष बोमबहादुर थापाले जानकारी दिए । थापाका अनुसार, भुजेलको घरमै चट्याङ लागेर ज्यान गएको हो ।
पछिल्लो समय लगातर भईरहेको वर्षासंगै परेको चट्याङले बडिगाड क्षेत्रका दर्जनबढी घरमा क्षती समेत पुगेको छ । बडिगाड गाउँपालिका वडा नं. १ का अधिकांस घरका स–साना विद्युतीय उपकरणमा क्षति पुगेकोे वडा अध्यक्ष थापाले बताए ।
चट्याङ परिरहेको समयमा विद्युतको मेन स्वीच अफ गर्दैगर्दा हाइभोल्टेज करेन्ट प्रवाहका कारण मृत्यु भएको हुनसक्ने वडाध्यक्ष थापाको अनुमान छ । मृतकको शव पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय हरिचौर लैजाने तयारी भइरहेको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी नायव निरिक्षक नारायण कुँवरले जानकारी दिए ।
प्रनानि कुँवरका अनुसार, चट्याङले बडिगाड क्षेत्रका अधिकांस घरका राउटर, बल्व, चार्जर लगाएतका साना उपकरणमा क्षती पुगेको छ । साथै, निरन्तरको वर्षाले ग्रामिण सडकमा क्षती पुग्दा सहज यात्रा हुन नसकेको स्थानीयको गुनासो छ ।





