पोखरा / बंगलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट एप्रिसिएसन अवार्ड २०२६’ बाट पोखराका प्रेम थापासहित नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । बंगलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनले नेपाली फोटोपत्रकारहरुलाई शनिबार अवार्ड प्रदान गरेकी थिइन् ।
समारोहमा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, ‘दि न्यू नेसन’ का प्रवन्ध सम्पादक अर्शाद हुसेन, बंगलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका महासचिव कादेर गोनी चौधरी र बंगलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनका अध्यक्ष एकेएम मोहसिन लगायतको उपस्थिति थियो । बंगलादेश र नेपालबीचको पत्रकारिता र सांस्कृतिक संबंधलाई प्रगाढ बनाउन यो कार्यक्रम आयोजना गरिएको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा रहेको नेपाली टोलीका सदस्यहरुलाई सो अवसरमा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष लेखबहादुर ‘सागर’ श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्यहरु मुकुन्द कालिकोटे, अनुप प्रधान र हरिस सिंह नगाल रहेका छन् । यसैगरी, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा र साधारण सदस्य रामशरण ‘अजय’ महर्जनलाई पनि सम्मान प्रदान गरिएको छ । सोही अवसरमा बंगलादेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २७ जना उत्कृष्ट फोटोपत्रकारहरुलाई समेत अवार्डद्वारा पुरस्कृत गरिएको थियो ।
नेपाल र बंगलादेशबीचको २१ वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध, ‘ब्युटिफुल नेपाल’ फोटो प्रदर्शनी तथा फोटोपत्रकारिता सम्बन्धी सेमिनारमा सहभागी हुन पुगेको नेपाली टोलीको सम्मानमा बंगलादेश फोटो जर्नालिस्ट्स एशोसिएशन र अवार्ड सम्मान समितिले पहिलोपटक यो कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमले दुई राष्ट्रबीचको पत्रकारितामा सहकार्य र अनुभव आदान(प्रदान गर्ने विश्वास लिइएको छ ।





