बागलुङ/सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न यहाँका स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय बागलुङले निर्देशन दिएको छ ।
सोमबार जिल्लाका दशवटै पालिकालाई पत्राचार गर्दै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रशासनले निर्देशन दिएको हो ।
प्रशासनले सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, अभिलेख व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणसम्बन्धी कार्यमा विशेष ध्यान दिन स्थानीय तहलाई आग्रह गरेको छ ।
गृहमन्त्रालय नेपा ले सार्वजनिक जग्गा अतिक्रमण रोक्न तथा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले यहाँका स्थानीय तहलाई सक्रिय बनाउन परिपत्र गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए ।
स्थानीय तहलाई यसअघि पनि सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरेपनि प्रभावकारी कार्यान्वयन नभएको भन्दै पुनः ध्यानाकर्षण गराइएको प्रशासनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
प्रशासनले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउने, अभिलेख अद्यावधिक गर्ने, कानुनी प्रक्रिया पूरा गरी अतिक्रमण हटाउने तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहलाई सक्रिय हुन भनेको छ ।





