पोखरा/ पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उनका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको ५९औँ वर्षगाँठका अवसरमा पोखराको मानव सेवा आश्रमका लागि ५४ लाख ४४ हजार ४४२ सहयोग गरेका छन् ।
पोखरा महानगरपालिका–८ सृजनाचोक निवासी पाण्डे दम्पतीले आफ्नो वैैवाहिक वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै मानवसेवा आश्रमद्वारा यहाँ जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा उक्त सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिए ।
मानवसेवा आश्रम पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको महान उद्देश्यसहित यही वैशाख १९ गतेदेखि महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षिक भोजनसेवा ग्रहण गर्दै १८ दिनको वार्षिक भोजन सेवा सदस्यताका लागि १८ लाख ८८ हजार ८८७ सहयोग गरेका थिए । यसैगरी मुक्तिनाथ सेवा धर्मशाला निर्माणअन्तर्गत पाँच कोठा निर्माणका लागि ३५ लाख ५५ हजार ५५५ सहयोग गरेको आयोजक समितिले जनाएको छ ।
‘वैवाहिक वर्षगाँठजस्तो विशेष अवसरलाई व्यक्तिगत उत्सवमा सीमित नराखी मानवताको सेवामा समर्पित गर्दै गरिएको सहयोगलाई महायज्ञकै प्रेरणादायी योगदानका रूपमा लिएका छौैँ । पाण्डे दम्पतीको उदार सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास तथा दिगो मानवीय सेवामा महत्त्वपूर्ण टेवा पुगेको छ’, मूल आयोजक समितिका संयोजक शाहीले भने ।
पाण्डे दम्पतीले यसअघि पनि २०७९ साल माघ २० गतेदेखि २७ गतेसम्म सम्पन्न श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञमार्फत भवन निर्माण सम्पन्नताका लागि ३० लाख ६६ हजार ६६६ सहयोग प्रदान गरेका थियो । मानव सेवा आश्रमले पाण्डे दम्पतीको योगदान समाजका लागि प्रेरणाको स्रोत बन्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएको छ ।
आश्रमका अनुसार महायज्ञमार्फत करिब चार करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ । सङ्कलित रकम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष वृद्धि गर्न खर्च गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । उनका अनुसार करिब १२ करोड लागत अनुमान गरिएको भवन निर्माण हालसम्म ६० प्रतिशत सकिएको छ ।
आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनाको काम गर्दै आएको छ । हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ । पोखराका दुई केन्द्रमा मात्र करिब ३०० आश्रित रहेका छन् ।





