पोखरा /पोखराको मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयका १२ विद्यार्थीले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परिषद् (एसईई) को नतीजामा ४.० जिपिए ल्याउन सफल भएका छन् । ४ जिपिए ल्याउने यो संख्या विद्यालयका लागि अहिलेसम्मकै धेरै हो । विद्यालयले यस अघि २०८१ मा ११ र २०८० मा १० विद्यार्थीले ४ जिपिए ल्याएका थिए।
मदरल्यान्डबाट यस वर्षको परीक्षामा १ सय ६३ विद्यार्थी सहभागी थिए । ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी मात्रै १ सय २४ जना छन्। यस्तै ३० विद्यार्थीले ३.२० देखि ३.६० जिपिए प्राप्त गरेका छन्। बाँकी ९ विद्यार्थीले ३.३ देखि ३.२० जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल डा नारायण बरालले बताए।
पूर्ण जिपिए ल्याउने १२ विद्यार्थीमध्ये ७ छात्रा र ५ छात्र छन्। उनीहरुमा आयुषा अधिकारी, आयुषा पोखरेल, आयुष्मा थापा र अंकिता तिमिल्सिना छन्। यस्तै अनुष्ठान रेग्मी, दिप्सन कँडेल, दीक्षा सुवेदी, नम्रता ढकाल, साइमन अधिकारी, समीप सुवेदी, सार्थक अधिकारी र सूर्यांश केसी रहेका छन् ।
मदरल्याण्डले गुणस्तरीय शिक्षामा आफूलाई अब्बल सावित गर्दै आएको छ । विद्यालयले समय–समयमा नेपाल सरकारका विभिन्न निकायबाट ‘वेस्ट स्कुल अवार्ड’ समेत पाउँदै आएको छ। गत वर्षको कक्षा १२ को नतिजामा पनि यो स्कुलले चमत्कार गरेको थियो। त्यतिबेला १२ विद्यार्थीले ३.९६ जिपिए ल्याएका थिए।
ऐतिहासिक सफलतापछि प्रिन्सिपल डा नारायण बरालले सफल सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना दिएका छन् । ‘हाम्रा विद्यार्थीले गौरवपूर्ण यात्रा तय गरेका छन्’ उनले भने। उत्कृष्ट नतिजाका लागि अहोरात्र खट्ने शिक्षक र अभिभावकलाई उनले आभार प्रकट गरे। विद्यालयको टिमवर्ककै कारण यस्तो नतिजा सम्भव भएको उनले बताए।





