पोखरा /कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएकी छन् । विद्यालयबाट ५५ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ५२ जना ग्रेडेड भएका छन् । यो ९४.५५ प्रतिशत उत्तीर्ण नतिजा हो ।
शोभाकै दिदी सुश्मा गौतमले ३.९१ जिपीए ल्याईन् । एकै घर परिवारका दिदी–बहिनीले एकैपटक एसइई परीक्षा दिएर कक्षा १ देखि निरन्तर प्रथम र द्वितीय हुँदै उत्कृष्ट नतिजा हासिल गर्नु विद्यालयका लागि गौरवको विषय बनेको प्रधानाध्यापक सन्तोष आचार्य बताउँछन् ।
यसैगरी अर्की छात्रा सुष्मा विकले ३.९० जिपिए प्राप्त गरेकी छन् । तथ्यांकअनुसार ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ११ छ । यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने २४ जना र २.८ देखि ३.२ जिपिए ल्याउने १६ जना छन् । १ जना विद्यार्थीले २.४ देखि २.८ जिपिए ल्याए । २.४ जिपिएभन्दा कम ल्याउने विद्यार्थी संख्या शून्य रहेको विद्यालयले जनाएको छ । ३ जना विद्यार्थी भने ननग्रेडेड भएका छन् ।





