बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनप्रियमा कम्प्युटर कक्षा

जनप्रियमा कम्प्युटर कक्षा


  • ढाेरपाटन संवाददाता
  • बैशाख ३१ २०८३, बिहिबार

पोखरा/ जनप्रिय मावि सिमलचौरबाट एसईई उत्तीर्ण ९८ जना विद्यार्थीलाई सम्मान गरिएको छ । १ हजार ६ सय ५५ जना विद्यार्थी अध्ययनरत जनप्रियमा ३.९५, ३.९१ जिपिए सहित ९८ जना विद्यार्थीले उत्तीर्ण गरेका थिए ।

विद्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा बधाई ज्ञापन गर्दै पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले कम्प्युटर सीप सिकेर रोजगारको अवसर सिर्जना गर्न जनप्रिय माविले गरेको प्रयास सफल भएको बताए । विद्यालयले यसै शैक्षिक सत्रदेखि ३० जना विद्यार्थीलाई कम्प्युटर कक्षा थालनी गरेको छ । आइटीको परिवेशमा इच्छुक विद्यार्थीले २ वर्षसम्म पढेर आर्जन गरेको ज्ञान सिधै रोजगारसँग जोडिने अध्यक्ष बरालले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले विद्यालयले सिकाएको सीप जीवनपयोगी भएपनि पूर्ण व्यवहारिक नभएको बताए । आय आर्जनमा जोडिन तथा सीपको सदुपयोग गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेका धमलाले एसईई उत्तीर्ण पहिलो खुटकिलो भएसँगै आगामी शैक्षिक यात्राको शुभकामना दिएका थिए ।

शिक्षक श्रीकान्त पौडेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रअ देविप्रसाद वस्ताकोटीले विद्यालयको शैक्षिक गतिविधि प्रस्तुत गरेका थिए । वस्ताकोटीले दशजोड दुइको भर्ना अभियान सुरु भएको उल्लेख गर्दै विज्ञान, वाणिज्य, शिक्षा, सिभिल इन्जिनियरिङ (९–१२) र कम्प्युटर कक्षाहरु दक्ष शिक्षक तथा उपयुक्त विधिबाट पढाई हुने बताएका थिए ।

शिक्षक इन्द्रबहादुर थापाले स्वागत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पर्शुराम बरालले विद्यार्थीको गहना नै अनुशासन भएकाले बधाई दिँदै सफल जीवनको लागि आजैबाट अनुशासनको कक्षा लिन सम्मानित विद्यार्थीलाई आग्रह गरेका थिए । विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थितिमा गण्डकी प्रदेश सेपाक ताक्रो (खेल) संघको आयोजनामा विद्यालयले प्राप्त गरेको पदक तथा पुरस्कार वितरण समेत गरिएको थियो ।

उक्त प्रतियोगितामा जनप्रिय माविबाट सहभागी छात्रा समूहले द्वितीय र छात्र समूहले तृतीय पुरस्कार प्राप्त गरेको खेल शिक्षक चन्द्रबहादुर आलेले जानकारी दिए । प्रदेश स्तरीय खेलमा कास्की जिल्ला सहित ९ जिल्लाबाट सहभागिता भएका थिए । विद्यार्थीका तर्फबाट सुवास देवकोटाले आफूले विद्यालयबाट प्राप्त गरेको ज्ञानले मञ्चमा उभिन सक्ने बनेको स्मरण गर्दै भाईवहिनीलाई मेहनेत गरेर पढ्न आग्रह गरेका थिए । जनप्रिय मावि सिमलचौर पोखरा ८ बाट ३९ जना विद्यार्थीले पुरक परीक्षामा भाग लिने भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->