शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालीका मन्दिरको पार्किङ शुल्कबाट विद्यालयमा अक्षयकोष

कालीका मन्दिरको पार्किङ शुल्कबाट विद्यालयमा अक्षयकोष


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३ २०८३, आइतबार

बागलुङ/कालिका भगवती गुठी व्यवस्थापन समितिले सवारी साधन पार्किङ गरेबापत प्राप्त गर्ने रकम अक्षयकोष स्थापनामा लगाउन थालेको छ । बागलुङ कालिका भगवती मन्दिर परिसरमा रहेको पार्किङ स्थलबाट गुठीले शुल्क उठाउँदै आएको छ ।

आर्थिक अभावका कारण गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा समस्या नआहोस् भन्ने उदेश्यले गुठी व्यवस्थापन समितिले सवारी पार्किङ शुल्कबापत प्राप्त हुने रकमबाट विद्यालयमा अक्षयकोष स्थापना गर्ने अभियानको शुरुवात गरेको हो ।

गुठीले आइतबार बागलुङ नगरपालिका वडा नं. २ मरेपिपलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा २ लाख रुपियाँको ‘कालीका भगवती गुठी अक्षयकोष’ स्थापना गरेर अभियान शुरु गरेको छ । ‘‘शुरुमा अक्षयकोष २ लाखको हुनेछ, पछि आवश्यकता अनुसार थपिदै जानेछ’’ गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले भने ।

अध्यक्ष खड्काका अनुसार, पार्किङ शुल्कबाट हुने आम्दानी हरेक ३÷३ महिनामा आर्थिक संकटबाट गुज्रिरहेका विद्यालयमा अक्षयकोष स्थापनामा लगाइने छ । ‘‘सानो पुँजिको कोष भएपनि गरिब विद्यार्थीको पठनपाठन ठूलो योगदान पु¥याउन सक्छ’’ बालमन्दिरमा आयोजित कार्यक्रममा बोल्दै खड्काले भने, ‘‘आवश्यकता हेरेर कोषमा रकम थपिने छ ।’’ एक वर्षमा चार विद्यालयमा अक्षयकोष स्थापना गर्ने गुठीको लक्ष्य छ ।

विद्यालयका प्रधानाध्यापक उमाकान्त पौडेलले आर्थिक अभावका कारण विद्यालय चलाउन कठिन भइरहेको बेला अक्षयकोषले ठूलो राहत दिएको बताए । कार्यविधि बनाएर अक्षयकोषको रकमबाट प्राप्त हुने व्याजबाट हरेक वर्ष विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने पौडेलले जानकारी दिए ।

बालमन्दिरमा अहिले एक सयभन्दा बढी विद्यार्थीले अभ्यापन गर्दै आएका छन् । विद्यालयमा अध्ययन गर्ने ९० प्रतिशत बालबालिका गरिब तथा मजदुरी गर्ने समुदायबाट रहेकाले विद्यालय पोशाकदेखि शैक्षिक सामग्री समेत विद्यालयले चन्दा संकलन गरेर विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक पौडेलले सुनाए ।

गुठीका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत शिक्षक दुर्गा न्यौपाने र सञ्चालन नेत्र केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->