पोखरा / पोखरा–२९, भण्डारढिकस्थित जनप्रकाश माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने जुम्लाहा दिदीबहिनीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
एसईईमा उत्कृष्ट सफलता प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा सम्मान गर्ने क्रममा बुधवार विद्यालयमा आयोजित कार्यक्रममा ४ जिपिए ल्याउन सफल जुम्लाहा विद्यार्थी दिया सुवेदी र दिपीका सुवेदीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । विद्यालयले दुवै विद्यार्थीको उपलब्धिले विद्यालयसँगै पोखरा महानगर तथा लेखनाथ क्षेत्रकै शैक्षिक प्रतिष्ठा उँचो बनाएको उल्लेख गर्दै पुरस्कृत गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा–२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले विद्यार्थीलाई आगामी दिनमा थप सफलता हासिल गर्न आफ्नो क्षमता विकास गर्दै जिम्मेवार र सम्मानजनक ढंगले उच्च अध्ययन अगाडि बढाउन सुझाव दिए । उनले एकै परिवारका जुम्लाहा दिदीबहिनीले हासिल गरेको सफलता वडाकै गौरवको विषय भएको बताए ।
उनले अहिलेको पुस्ताले पढाइसँगै व्यवहारिक ज्ञानमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई घरायसी सामान्य काममा समेत सहभागी गराउन अभिभावकलाई आग्रह गरे ।यस वर्ष जनप्रकाश माविबाट एसईईमा सहभागी ८४ जना विद्यार्थीमध्ये ५८ जना उत्तीर्ण भएका छन् । तीमध्ये ४ जिपिए ल्याउने जुम्लाहा दिदीबहिनी सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनेका विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद भण्डारी ले विद्यालयको निरन्तर शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा विशेष ध्यान दिइएको बताए । विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्मा ले विद्यार्थीहरूको सफलताको श्रेय मेहनती विद्यार्थी, समर्पित शिक्षक तथा निरन्तर सहयोग गर्ने अभिभावकलाई दिँदै सबैलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।
‘हाम्रो उद्देश्य केवल परीक्षा उत्तीर्ण गराउनु मात्र होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु पनि हो । अहिलेको एसईई नतिजा र विगतका उपलब्धिले त्यसलाई पुष्टि गरेको छ,’ उनले भने । उनले जीवनलाई निरन्तर परीक्षाका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई संयमित र अनुशासित भएर अघि बढ्न सुझाव दिए । ‘परीक्षामा मात्र होइन, जीवनका हरेक परीक्षामा सफल हुनुपर्छ,’ उनले बताए ।
कार्यक्रमको सञ्चालन शिक्षक बिमल न्यौपाने ले गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । वि.सं. २०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल गण्डकी प्राविधिक शिक्षातर्फ करिब ४ सय ३० जना तथा साधारण शिक्षातर्फ एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा व्यवस्थापन विषयसहित नेपाली तथा अंग्रेजी माध्यमबाट अध्ययन–अध्यापन हुँदै आएको छ ।





