बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संस्कारयुक्त शिक्षाका लागि अभिभावकलाई बालोदयको उत्प्रेरणा

संस्कारयुक्त शिक्षाका लागि अभिभावकलाई बालोदयको उत्प्रेरणा


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १८ २०८३, सोमबार

पोखरा/ शिक्षा केवल अक्षर ज्ञानको माध्यम मात्र नभई असल चरित्र निर्माणको आधार हो भन्ने सन्देशसहित पोखराको बिरौटास्थित बालोदय सेकेन्डरी स्कुलले अभिभावकहरूका लागि दुईदिने उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयको नवनिर्मित सभाहलमा शनिवार र आइतबार आयोजित ‘संस्कार सहितको शिक्षा’ विषयक कार्यक्रममा वरिष्ठ उत्प्रेरक, लाइफ कोच तथा कर्पोरेट विज्ञ डा.रबिन कटवालले सहजीकरण गरेका थिए । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

दुई दिनसम्म बिहान र दिउँसो सञ्चालन गरिएको कार्यक्रममा १ हजार २ सयभन्दा बढी अभिभावक सहभागी भए । कक्षागत व्यवस्थापनअनुसार पहिलो दिन नर्सरीदेखि कक्षा ३ तथा कक्षा १० सम्मका विद्यार्थीका अभिभावक सहभागी भएका थिए भने दोस्रो दिन कक्षा ४ देखि ९ सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रशिक्षक डा.कटवालले शिक्षा र संस्कारलाई जीवनका दुई महत्वपूर्ण आधारस्तम्भका रूपमा व्याख्या गर्दै बालबालिकालाई सफल मात्र होइन, जिम्मेवार र असल नागरिक बनाउन परिवारको भूमिका निर्णायक हुने बताए । उनले अभिभावकलाई सकारात्मक सोचको विकास गर्न, अध्ययनशील बन्न र बालबालिकासँग गुणस्तरीय समय बिताउन आग्रहसमेत गरे ।

‘छोराछोरीलाई केवल परीक्षामा उत्कृष्ट अंक ल्याउन प्रेरित गर्नु पर्याप्त हुँदैन, उनीहरूलाई आत्मनिर्भर, जिम्मेवार र मानवीय मूल्यबोध भएका नागरिकका रूपमा हुर्काउनुपर्छ’, उनले भने । बालबालिकालाई विश्व नागरिक बन्ने सपना देखाउँदै गर्दा परिवार, समाज र राष्ट्रप्रतिको उत्तरदायित्वसमेत सिकाउनुपर्नेमा उनले विशेष जोड दिए ।

विभिन्न जीवन्त उदाहरण, कथा र अनुभव प्रस्तुत गर्दै कटवालले असल अभिभावकत्वका आयामहरूलाई रोचक शैलीमा उजागर गरेका थिए । उनको प्रस्तुति सहभागीहरूका लागि प्रेरणादायी र मननीय बनेको सहभागीहरूको प्रतिक्रिया थियो ।

कार्यक्रमको प्रारम्भमा विद्यालयका प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । समापन अवसरमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कमला पगेनीले व्यस्त समयका बाबजुद विद्यालयमा उपस्थित भई प्रेरणादायी प्रशिक्षण प्रदान गरेकोमा डा. कटवालप्रति आभार व्यक्त गरिने । साथै उनले कार्यक्रम सफल बनाउन योगदान पु¥याउने अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई धन्यवाद दिइन् ।

विद्यालयका प्राचार्य टेकनाथ पौडेलले सञ्चालन गरेको कार्यक्रममा छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->