पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसले संस्थापक क्याम्पस प्रमुख स्व. गणेशमान पालिखेको २१ औँ स्मृति दिवसमा क्याम्पस परिसरमा वृक्षारोपण गरी मानव सेवा आश्रमलाई खाद्यन्य वितरण र नगद हस्तान्तरण गरको छ ।
स्मृति दिवसका सन्दर्भमा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको थियो । साथै मानव सेवा आश्रम छोरेपाटनमा २२ हजार बराबरको खाद्यान्न र परिवारको तर्फबाट नगद ५ हजार हस्तान्तरण गरिएको क्याम्पसका उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए ।
२०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्गामा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम.कम. पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।
स्मृति दिवसका अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीले पालिखे शैक्षिक, राजनीतिक, उद्यमी, व्यावसायी व्यक्तित्व रहेको बताए । कडा परिश्रम र संघर्षले नै पालिखे सफल भएको उनको भनाई थियो । आफ्नो समयको नेतृत्वदायी भूमिका खेलेका पालिखेले क्याम्पसकै लागि ज्यानको आहुति दिई शिक्षा मै सहादत पाएका क्रान्तिकारी व्यक्तित्व भएको जानकारी दिए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पसमा पढ्दा पालिखे सरबाट आफू प्रभावित भएको बताउँदै उनको पदचाप पछ्याई जनप्रियलाई पूर्ण डिजिटलाइज्ड गराउने, प्रविधिमैत्री पठनपाठनको वातारण बनाउने र क्याम्पसलाई थप उचाइमा पु¥याउने प्रतिवद्धता गरे ।
निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखेको जीवनी व्यक्तित्वमाथि प्रकाश पार्दै पालिखेले नेपालभरि कै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरिका सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए ।
पोखरा उद्योग वाणिज्य संंघकी महासचिव शोभा गौतम, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ जनप्रिय एकाइका अध्यक्ष नरेश बराल, कर्मचारी सङ्घ जनप्रिय एकाइका अध्यक्ष देवी पनेरु, पालिखेकी धर्मपत्नी गंगादेवी पालिखे लगायतले क्याम्पसलाई गतिशील र क्रियाशील शैक्षिक संस्थाका रूपमा स्थापित गर्न संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, क्याम्पसलाई केन्द्रमा राखी कार्यसम्पादन गर्न क्याम्पस प्रशासनलाई सुझाए ।
स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण गरिएको छ । पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको गरेकी छन् ।
समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।





