पोखरा/ पोखरा–१० बुद्धचोकस्थित टप्स माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । टप्स फाउन्डेसन प्रालिका अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उत्तमप्रसाद पौडेलले टप्स माध्यमिक विद्यालय नयाँ व्यवस्थापनका साथ अघि बढेकोमा खुसी व्यक्त गर्दै यसलाई यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउन शुभकामना व्यक्त गरे । अष्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत तथा उत्प्रेरक वक्ता महेशराज दाहालले विद्यार्थीहरूलाई सफलता हासिल गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवलाई अनुशरण गर्न सुझाव दिए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष बलबहादुर थापाले टप्सलाई गण्डकी प्रदेशकै नमुना विद्यालय बनाउने लक्ष्यका साथ आफूहरू अगाडि बढेको स्पष्ट पारे । प्लस टु संयोजक विमल देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले आकर्षक नृत्य, गायन र कविता प्रस्तुत गरेका थिए । कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाउन विशिष्ट अतिथि एवं चर्चित लोकगायक प्रकाश सपुतले आफ्ना लोकप्रिय गीत–सङ्गीत प्रस्तुत गर्दै उपस्थित सबैलाई झुमाएका थिए ।
विद्यालयका प्राचार्य डा. झपिन्द्र अधिकारीले विद्यार्थीहरूको क्षमता विकास र उजागर गर्न विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।






