शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जेष्ठ नागरिकको स्वास्थ्य बेनी नगरको प्राथमिकता

जेष्ठ नागरिकको स्वास्थ्य बेनी नगरको प्राथमिकता


  • अमृत बास्कुने
  • असार ९ २०८३, मंगलबार

म्याग्दी/जिल्लाको एक मात्रै नगरपालिका बेनी नगरपालिकाले पर्यटन, सामाजिक विकास र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बेनी नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पर्यटन विकास, सामाजिक क्षेत्रको सुदृढीकरण र ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेको छ ।

नगर प्रमुख सुरत केसीले नगरसभाको १९औँ अधिवेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ समृद्ध बेनी नगरको मूल आधार’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै समृद्ध नगर निर्माणको लक्ष्य अघि सारिएको छ ।

पर्यटन क्षेत्रलाई नगरको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यसहित प्रत्येक वडामा पर्यटन परियोजना सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बेनी नगरपालिकाको वडा नं. १ मा रत्नेचौर–पर्वत झोलुङ्गे पुल र भाइरल तोरीबारी, वडा नं. २ मा लभ्ली हिल, ज्यामरुककोट दरबार तथा गौश्वारा गोवर्धन क्षेत्र, वडा नं. ३ मा बेलढुङ्गा स्वर्गाश्रम, वडा नं. ४ मा तातोपानी कुण्ड, वडा नं. ५ मा रामायण पार्क र पुलहाश्रम, वडा नं. ६ मा रामशीला स्मारक स्थल, वडा नं. ७ मा बलमुक्तेश्वर शिवालय, भर्तिबम शिवालय, महारानीथान, महारानी पोखरी र भगवती मन्दिर जस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, वडा नं. ८ मा जलेश्वर गुफा र शालिग्राम संग्रहालय, वडा नं. ९ मा गलेश्वरधाम तथा ढोल्ठान दरबार र वडा नं. १० मा सिद्धाश्रम तथा टोड्के पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । उल्लेखित यी परियोजनामा संघ, प्रदेश र निजी क्षेत्रसँग साझेदारी गरेर लगानी भित्राउने नीति तथा कार्यक्रममा लक्ष लिइएको छ ।

नगरपालिकाले पर्यटन सम्भावना भएका नयाँ गन्तव्यहरूको पहिचान, धार्मिक तथा आध्यात्मिक क्षेत्रको प्रचार–प्रसार र ऐतिहासिक सम्पदाको संरक्षणलाई समेत प्राथमिकतामा राखेको छ । रामायण पार्कलाई थप पूर्वाधारसहित विकास गर्ने, धार्मिक स्थलहरूको पहुँच सुधार गर्ने तथा पर्यटनसँग स्थानीय अर्थतन्त्रलाई जोड्ने लक्ष्य नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सामाजिक विकासतर्फ नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । गुणस्तरीय र व्यवहारिक शिक्षालाई जोड दिँदै सामुदायिक विद्यालयको शैक्षिक सुधार, शिक्षकको क्षमता अभिवृद्धि, स्थानीय पाठ्यक्रम कार्यान्वयन, छात्रवृत्ति, ‘वी क्यान वी डु’ कार्यक्रम तथा विद्यार्थीमैत्री वातावरण निर्माण गरिने नीति लिइएको छ ।

महिला सशक्तीकरण, बालविवाह न्यूनीकरण, लैङ्गिक हिंसा विरुद्ध अभियान, आमा समूहसँग उपमेयर कार्यक्रम, बालमैत्री वडा निर्माण तथा सामाजिक संघसंस्थासँगको सहकार्यलाई समेत प्राथमिकतामा राखिएको छ । वडामा रहेका जेष्ठ नागरिक मिलन केन्द्रलाई थप व्यवस्थित बनाउँदै योग, सत्सङ्ग र सामाजिक सहभागितामार्फत उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गरिने नीति पनि नगरपालिकाले अघि सारेको छ ।

स्वास्थ्य क्षेत्रतर्फ नगरपालिकाले ‘निरोगी नगरपालिका अभियान’लाई अझ प्रभावकारी बनाउने घोषणा गरेको छ । विशेषगरी ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिका लागि ‘ज्येष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । यसअन्तर्गत स्वास्थ्यकर्मी घरमै पुगेर जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।

प्रत्येक महिनाको १५ गते ‘एनसीडी डे’ सञ्चालन गरी उच्च रक्तचाप, मधुमेह, मिर्गौला, मुटु तथा अन्य नसर्ने रोगको निःशुल्क परीक्षण, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण, किशोरीहरूको रक्तअल्पता परीक्षण, गर्भवतीको डिजिटल अभिलेखीकरण, ग्रामीण अल्ट्रासाउण्ड सेवा तथा विशेषज्ञसहितका बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । विपन्न परिवारका लागि स्वास्थ्य बीमा र उपचार सहयोगलाई समेत निरन्तरता दिइने उल्लेख गरिएको छ ।

पर्यटन, सामाजिक सुरक्षा र नागरिकमैत्री स्वास्थ्य सेवालाई एकैसाथ प्राथमिकतामा राखेको यस नीति तथा कार्यक्रमले बेनी नगरपालिकालाई आर्थिक, सामाजिक तथा मानवीय विकासको सन्तुलित मोडेलका रूपमा अघि बढाउने नगरपालिकाको लक्ष्य स्पष्ट पारेको छ ।

नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि उपप्रमुख ज्योति लामिछानेले प्रस्तुत गरेको चालु तर्फ ५६ करोड ४ लाख ५० हजार र पुँजीगत तर्फ १९ करोड ४८ लाख २५ हजार गरी कुल ७५ करोड ५२ लाख ७५ हजारमा नबढाइ खर्च गर्ने गरि बजेट पारित भएको छ । नगरपालिकाले चालु तर्फ ७४ दशमलब २० प्रतिशत र पुँजीगत तर्फ २४ दशमलब ८० प्रतिशत बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->