शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तिब्बती नागरिकले फर्जी कागजातमा गोरखाबाट नागरिकता बनाएको भन्दै प्रशासनमा नै उजुरी

तिब्बती नागरिकले फर्जी कागजातमा गोरखाबाट नागरिकता बनाएको भन्दै प्रशासनमा नै उजुरी

निवेदनमा लोरसाङ तेञ्जिङ तिब्बती नागरिक भएको दाबी गरिएको छ।


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८३, शुक्रबार

गोरखा / तिब्बती नागरिकले झुठा विवरण पेश गरी गोरखाबाट नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी परेको छ। लोरसाङ तेञ्जिङ लामाले साविक प्रोक गाविस वडा नं. ८ को स्थायी बासिन्दा हुँ भनी झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेको हो। निवेदनमा लोरसाङ तेञ्जिङ तिब्बती नागरिक भएको दाबी गरिएको छ।

लोरसाङले २०५८ चैत १४ मा जिल्ला प्रशासन कार्यालय गोरखाबाट लिएको ८८२३१ नम्बरको नागरिकतामा बुबाको नाम लेख्ने महलमा तम्बा छिरिङ लामा लेखिएको छ। तम्बा छिरिङ लामाको एक मात्र श्रीमती र एक मात्र छोरा कर्मा छेवाङ लामा रहेको दाबी गरिएको छ। साथै कर्मा छेवाङको समेत मृत्यु भइसकेको निवेदनमा उल्लेख छ। चुमनुब्री ४ स्थित नाम्ला गुम्बाका प्रमुख लामासमेत रहेका लोरसाङ तेञ्जिङले सोही नागरिकताका आधारमा नेपाली राहदानी बनाई विभिन्न देश आवतजावत गरिरहेको उजुरीमा दाबी गरिएको छ।

सो झुठा विवरण पेश गरी नागरिकता बनाउन चुमनुब्री गाउँपालिका ४ नाम्रुङका धावा दोर्जे लामाले सहजिकरण गरेको उजुरीमा किटान गरिएको छ। साथै सोही उजुरीमा धावा दोर्जे लामाले पनि नेपाली र तिब्बती नागरिकता लिएको उल्लेख गरिएको छ। उनको तिब्बती नागरिकता नागार्जुन नगरपालिका-३ स्थित तिब्बती शरणार्थी शिविरको कार्यालयमा राखिएको भन्दै आवश्यक छानबिन गर्न माग गरिएको छ।

सो बेनामे उजुरीमा लोरसाङ तेञ्जिङको नेपाली नागरिकताको प्रतिलिपिसहित अन्य विभिन्न कागजातसमेत समावेश गरिएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले उजुरी प्राप्त भएको भन्दै यसबारे अध्ययन र अनुसन्धान गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->