बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोल्डेन नेचरमा सर्वाङ्गीण विकासका लागि अभिभावक शिक्षक अन्तरक्रिया

गोल्डेन नेचरमा सर्वाङ्गीण विकासका लागि अभिभावक शिक्षक अन्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • असार २० २०८३, शनिबार

पोखरा/ विद्यालय शिक्षामा निरन्तर मूल्याङ्कन, सिकाइ उपलब्धि तथा बालबालिकाको सर्वाङ्गीण विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरा ३० खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ।

कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि, व्यवहारगत विकास, रुचि, क्षमता तथा निरन्तर मूल्याङ्कन प्रणालीका विषयमा जानकारी आदानप्रदान गर्दै विद्यालय र अभिभावकबबिच सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमको स्वागत मन्तव्य तथा उद्देश्यबारे प्रकाश पार्दै विद्यालयका प्राचार्य प्रेमप्रसाद शर्माले बालबालिकाको समग्र विकासका लागि विद्यालय र अभिभावकबिच नियमित संवाद, विश्वास र सहकार्य अपरिहार्य रहेको बताए । उनले बालबालिकालाई केवल परीक्षामुखी नभई जीवनोपयोगी सिप, नैतिक आचरण, अनुशासन, सिर्जनशीलता तथा सकारात्मक व्यवहारतर्फ उन्मुख गराउनु आजको शिक्षाको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।

प्राचार्य शर्माले कक्षा १ देखि ५ सम्म लागू गरिएको निरन्तर मूल्याङ्कन प्रणालीबारे जानकारी दिँदै प्रत्येक विद्यार्थीको दैनिक सिकाइ उपलब्धि, व्यवहार, सहभागिता र प्रगतिलाई नियमित रूपमा अभिलेखीकरण गरी त्यसैका आधारमा शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी बनाइने बताए । उनले घर र विद्यालयबीच निरन्तर समन्वय कायम रहेमा बालबालिकाको सिकाइ उपलब्धि अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अभिभावकका तर्फबाट पुनम अधिकारी, शान्ति गुरुङ राई, प्रदीप सापकोटा, प्रेम पुन, ज्योति शर्मा, सरिता मिश्र तथा जानकी पौडेल लगायतले विद्यालयले सञ्चालन गरेका शैक्षिक, अनुशासनात्मक तथा अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै बालबालिकाको सिकाइ अझ प्रभावकारी बनाउन विभिन्न रचनात्मक सुझाव प्रस्तुत गर्नुभयो। उहाँहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रम नियमित रूपमा आयोजना गरिनुपर्ने धारणा राखेका थिए ।

शिक्षक–शिक्षिकाका तर्फबाट होमनाथ भट्टराई, शान्ति सुवेदी तथा प्रभा तिमिल्सिना लगायतले कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिकाको उमेरअनुसार देखिने मनोवैज्ञानिक अवस्था, व्यवहारगत परिवर्तन, सिकाइ शैली, रुचि तथा चुनौतीबारे जानकारी गराउँदै अभिभावकले घरमा अपनाउनुपर्ने सकारात्मक व्यवहार र सहयोगका उपायहरू प्रस्तुत गरे ।

उनीहरुले बालबालिकामा अध्ययनप्रतिको रुचि, आत्मविश्वास, अनुशासन, सामाजिक व्यवहार तथा नेपाली भाषा, संस्कृति र नैतिक मूल्यप्रतिको सम्मान विकास गर्न परिवारको भूमिका अत्यन्त महत्वपूर्ण रहने धारणा व्यक्त गरे । वक्ताहरूले डिजिटल प्रविधिको बढ्दो प्रयोगका कारण बालबालिकाको अध्ययन, व्यवहार तथा सामाजिक जीवनमा परेको प्रभावलाई ध्यानमा राख्दै अभिभावकले सन्तानसँग पर्याप्त समय बिताउने, संवाद गर्ने तथा प्रविधिको सन्तुलित प्रयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ रानाभाटले विद्यालयले गुणस्तरीय शिक्षा, असल संस्कार, अनुशासित वातावरण र बालबालिकाको सर्वाङ्गीण विकासलाई सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गरे। उनले विद्यालय, अभिभावक र समुदायबिचको सहकार्य अझ सुदृढ बनाउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

शिक्षक सोमनाथ कँडेलले सञ्चालन गरेको कार्यक्रममा कक्षा १, २ र ३ का विद्यार्थीका अभिभावक, शिक्षक शिक्षिका तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->