शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटकीय स्थलको प्रचारप्रसारमा विद्यार्थीको सक्रियता

पर्यटकीय स्थलको प्रचारप्रसारमा विद्यार्थीको सक्रियता


  • ढाेरपाटन संवाददाता
  • असार २२ २०८३, सोमबार

म्याग्दी/ हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित प्राकृतिक चिकित्सालयको रूपमा ख्याति कमाएको प्रसिद्ध तातोपानी कुण्डको प्रचार–प्रसार तथा प्रवद्र्धनका लागि विद्यार्थीहरुको राष्ट्रिय सेवा दल (एनसीसी) ले अभियान सुरु गरेको छ ।

नेपाली सेनाले विद्यालयस्तरका विद्यार्थीलाई तालिम दिएर निर्माण गर्ने राष्ट्रिय सेवा दलमा आबद्ध माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बेनीका बिद्यार्थी (क्याडेट) हरूले आइतबार तातोपानी कुण्ड परिसरमा कार्यक्रम सम्पन्न गरेर पर्यटकीय स्थलको प्रचार अभियानलाई अगाडी बढाएका हुन् ।

बेनी–६ स्थित नेपाली सेनाको गुरु गोरख गुल्म, अर्थुङ्गे म्याग्दीको समन्वयमा माउण्ट एभरेष्ट आवासीय माविलाई असार १ गतेदेखि एनसीसी तालिम तथा सामाजिक कार्यको थालनी गरिएको छ । एनसीसीमा पाँच चरणमा सामाजिक कार्यक्रम गरिने कार्यक्रम तय भएको माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल राजु केसीले जानकारी दिए । एनसीसी ५२ औँ ब्याचका क्याडेटहरूका लागि आयोजित तीन महिने एनसीसी जुनियर डिभिजन तालिम अन्तर्गत पाँच चरणमा विभिन्न सामुदायिक सेवाका कार्यक्रमहरू सञ्चालन गरिने गुरु गोरख गुल्मका प्रशिक्षक जमदार चन्द्रप्रसाद पौडेलले बताए ।

नेपाली सेनाका अनुसार यस तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई अनुशासित, बफादार र देशप्रति समर्पित नागरिक बनाउनु हो । जुनियर डिभिजनतर्फको यस तालिममा कक्षा ८ देखि १० सम्मका ३० जना छात्रछात्राहरू सहभागी छन् । ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यलाई आत्मसाथ गर्दै युवा विद्यार्थीहरूको चरित्र निर्माण, नेतृत्व गुण, खेलकुद भावना र निःस्वार्थ सेवा भावको विकास गर्न यो तालिम महत्वपूर्ण सावित हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->