पोखरा/मुख्य वैज्ञानिकको दरबन्दी छ, पदपूर्ति छैन । वरिष्ठ वैज्ञानिक (एस ३) १० जनाको दरबन्दीमा ५ जना हालैमात्र आएका छन् । पहिला सबै पद खाली थिए । वरिष्ठ वैज्ञानिक (एस ४) मा १ जनाको दरबन्दी रहेकोमा डा बन्धुराज बराल कार्यरत छन् । उनै बराल निर्देशक छन् ।
कृषि र पशुसम्बन्धी अनुसन्धान गर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेको अवस्था हो यो । यहाँ वैज्ञानिक (एस २) ५ दरबन्दीमा तीन जना छन् भने वरिष्ठ प्राविधिक अधिकृत ३ दरबन्दीमा सबै खाली छन् ।
८३ दरबन्दीमा २८ जनाको मात्रै पदपूर्ति रहेको निर्देशनालय अहिले जसोतसो धानिएको छ । वैज्ञानिक (एस १) ४ जनामा सबै खाली रहेकोमा पछिल्लो समय ३ जना आएका छन् । लेखा अधिकृत खाली छ भने एक जना लेखापाल कामकाजमा छन् । प्राविधिक अधिकृत १८ जनामा एक जनामात्रै कार्यरत छन् ।
इलेक्ट्रिसियन र मेकानिक्स १÷१ जना दरबन्दी भए पनि कोही छैन । प्राविधिक सहायक (एस ४) दरबन्दी नभए पनि एक जना काजमा कार्यरत छन् । प्राविधिक सहयोगी १३ को दरबन्दीमा ८ जना, प्रशासनिक सहयोगी ५ जनामा एक जना र हलुका सवारी चालक २ जनामा एक जनामात्रै कार्यरत रहेको निर्देशनालयले जनाएको छ । भारी सवारी चालक एउटै छैनन् ।
वाली तथा वागवानी, पशुपंक्षी, माटो, रोगकीराको अनुसन्धान, समस्याको समाधान र कृषिजन्य वस्तुको संरक्षण, जातीय सुधारका काम गर्ने केन्द्रमा बैज्ञानिकै नभएपछि महत्वपूर्ण प्रयोगशाला बेकामे भएर अनुसन्धान प्रभावित भएको कर्मचारी नै स्वीकार्छन् ।

२०२४ मा बेलायत सरकारले आफ्ना भूपू सैनिकलाई कृषि र पशुपालनको तालिम दिन केन्द्र स्थापना गरेको थियो । उति बेला सैनिकबाट निवृत्त भएपछि विदेश जाने चलन थिएन । स्वदेशमा रोजगारी पनि हुन्थेन । पेन्सनले सहजै जीवन धानिन्नथ्यो । त्यसैले आफ्ना पूर्व सैनिकहरुलाई व्यावसायिक कृषिमा सहभागी भएर जीविकोपार्जनमा सहयोग पु¥याउन बिऊ उत्पादन, बिक्रीवितरण, वन, पशु, कृषिको तालिम दिएर नर्सरीसमेत बनाउन सिकाइन्थ्यो ।
भूपूहरुले गाउँगाउँ पुगेर तालिम दिन्थे । सुरुमा कास्की, पर्वत र म्याग्दीका २५ गाउँ पञ्चायतमात्रै कार्यक्षेत्र थिए । सन् १९८७ मा पहाडी खाद्यान्न उत्पादन परियोजना अन्तर्गत गोरखा, लमजुङ, तनहुँ र स्याङजा जिल्लामात्र अनुसन्धानको कार्यक्षेत्रमा थिए । अहिले भने यसको कार्यक्षेत्र गण्डकी प्रदेश हो । २०७७ साउनदेखि कृषि अनुसन्धान निर्देशनालयको रुपमा नामाकरण गरिएको छ ।
प्रयोगशाला छन् तर अनुसन्धान हुदैन । औषधीको प्रभावकारिता, रोगको पहिचान, कीराको प्रकोपका नियन्त्रण लगायतका कामसमेत हँुदैनन् । पुराना वैज्ञानिक निवृत्त भएपछि नार्कले दरबन्दी अनुसार कर्मचारी नथप्दा समस्या भएको हो । नार्कले पठाएका अधिकांश वैज्ञानिक र प्राविधिक यहाँ आउन मान्दैनन्, आइहाले पनि बस्न मान्दैनन् ।
निर्देशनालयका निर्देशक डा बन्धुराज बराल वैज्ञानिक अभावमा काममा बाधा परेको स्वीकार्छन् । रोग, कीरा विज्ञ हुनुपर्नेमा नहुँदा समस्या छ । नयाँ प्रविधिको विकास गरी रोगकीरा नियन्त्रण गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । जैविक एवं रासायानिक विषादिको पहिचान र नियन्त्रणको काम पनि प्रभावित भएको उनले बताए । ‘पछिल्लो ४ वर्षदेखि पदपूर्ति नभएको, सानो कुरामा पनि मुद्दा, मामिला पर्ने हुँदा पनि समस्या भएको थियो’, प्रमुख बरालले भने, ‘पदपूर्ति चलिरहेकाले पछिल्लो समय ९ जना थपिनु भयो । अब दरबन्दी अनुसार पदपूर्ति हुने विश्वासमा छौँ ।’
निर्देशनालयका वैज्ञानिक रमेश आचार्यले थप वैज्ञानिक, प्राविधिक आएमा काम सहज बताए । ‘विगतको ट्रेन्ड हेर्दा आउनेहरु कति समय बस्नु हुन्छ भन्ने समस्या पनि हुन सक्छ’, आचार्यले भने, ‘सरुवा नमागी यही बसेर काम गरे निर्देशनालयको उद्देश्य पूरा हुँदै जान्छ ।’





