म्याग्दी/जिल्लाको दुई स्थानमा गएको पहिरोले २ घर पुरेको छ । घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा पशुचौपाया पुरिँए पनि एकिन तथ्यांक भने आइसकेको छैन ।
आइतबार रातीको वर्षापछि आएको बाढीले बेनी नगरपालिका–३ भकिम्लीमा एक घर पुरिँदा ७० वर्षिय लालबिर छन्त्यालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार, पहिरोले घर पुरिँदा रातीदेखि हराएका छन्त्यालको बिहान सव भेटिएको हो । अन्य क्षति भएपनि एकिन भै नसकेको उनको भनाई छ ।
त्यसैगरी धवलागिरी गाउँपालिका–७ धारापानीमा पहिरोले एक घर पुरिँदा क्षति भएको छ । घरमा रहेका सबै सदस्यलाई स्थानीयले सकुशल उद्धार गरेको सुचना अधिकारी तिमिल्सिनाले बताए । पहिरोले बेनी जोमसोम तथा बेनी दरवाङ सडक खण्डमा पनि अबरुद्ध भएको छ ।





