गत असारको अन्तिम साता राजधानीमा राइड शेयर गर्ने राइडर मुगुका गणेश नेपालीले आत्मदाह गरेको विषयले सदन देखी सडकसम्म चर्चा पायो । राइडर नेपालीले निषेधित क्षेत्रमा आफ्नो मोटरसाइकल पार्क गरी यात्र् पर्खिरहेको र काठमाडौं नगर प्रहरीले उक्त कार्य विरुद्ध मोटरसाइकलको चक्कामा लक राख्दा विकसित घटनाले आत्मदाह सम्मको दुखद घटना घट्यो । उक्त घटना अनुसन्धानकै चरणमा रहेकोले पक्ष र विपक्षमा कुरा गर्नु तर्कसंगत हुदैन । अर्को विषय ट्राफिक जरिवाना चर्को बनाउन नयाँ कानुन प्रस्ताव बारे सरकार समक्ष थुप्रै जनगुनासाहरु पोखिएका छन् । सडक पुर्वाधारको अवस्थालाई नहेरी सर्वसाधरणलाई महङ्गो जरिवानाको भागिदार बनाउन खोजेको भनि विरोध हुदै आएको छ । तर यि समसामयिक घटनाले ट्राफिक नियमबारे सबै नागरिक सचेत हुन पर्ने विषयलाई भने उजागर गरेको छ ।
सडक प्रयोगकर्ताहरुमा अनुशासन परिपालना गर्न ट्राफिक व्यवस्थापन प्रभावकारी हुनु जरुरी छ । विकसित र विकासशिल उपत्यका, सहर एवं ग्रामिण भेगमा दिनप्रतिदिन सवारी चाप बढ्दै गएको छ । अव्यवस्थित वस्ति, सहर, सिमित साँघुरा सडक गल्ली, बढ्दै गएको जनसंख्या, सवारीचापका कारण ट्राफिक व्यवस्थापन गर्न चुनौतिपूर्ण बन्दै गएको छ । ट्राफिक व्यवस्थापन सडक प्रयोगकर्ताको जीउधनको रक्षा गर्न उद्धत रहन्छ । सडक र सवारी नियम पालना गराउनुका साथै यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने ध्येय ट्राफिक प्रहरीले राखेको हुन्छ । नेपाली सडकहरु कार्यालय समयमा बढी जाम हुने गर्दछ । सार्वजनिक यातायातहरुमा यात्रुको अत्याधिक भिडभाड हुने त्यसमा पनि सवारी चालक र सहचालकको लापरबाहीले सवारी दुर्घटनालाई निम्ताइ रहेको अनुमान गरिन्छ । यसमा यात्रुले गर्ने लापरबाही पनि समाहित गर्नु पर्दछ । निजी सावारी साधनमा चालकको अनुभवको कमी, अनुमतिपत्र नलिई सवारी साधन गुडाउने गरेको पाइन्छ । सवारी साधन चलाएको समयमा मोबाइल फोन चलाउने, धुम्रपान, मद्यपान एवं सुर्तीजन्य पदार्थको सेवन गर्ने बानी केही सवारी चालकहरुमा देखिन्छ ।
सडकहरु जीर्ण अवस्थामा रहेकाले झन् सवारी दुर्घटना बढ्ने गरेको छ । सरकारी निकायको समन्वय र सहकार्य विना नै टेलिफोन, पानीको पाइप, ढल, बिजुलीको तारहरु सडकमा नै विच्छाउनाले सडक धुलाम्मे बन्ने, त्यसको समयमा नै व्यवस्थापन गर्न नसक्दा खाल्डाखुल्डी बन्ने समस्या देखा परेको छ । यसले पैदल यात्री र सवारी चालक दुवैलाई कठिनाई उत्पन्न भएको छ । त्यसमाथी वर्षायाममा सडक विग्रने, भासिने, पहिलो जानाले यात्रुहरुले सकुशल यात्रा गर्न सकेको देखिदैन । दीगो विकासलाई ख्याल नै नगरी सडक निर्माण गर्ने कार्यले दीर्घकालीन असर पर्दै जादा ट्राफिक व्यवस्थापनमा जटिलता थपिएको छ । त्यस्तै प्रतिष्ठित व्यक्तिको सवारीमा अपनाउने सुरक्षा, त्यसको ट्राफिक व्यवस्थापनले गर्दा पनि ट्राफिक जाम भई सर्वसाधारणले सास्ती भोग्नु परेको तितो यथार्थ छ । आर्थिक वर्षको अन्त्यमा मात्र विकास निर्माणका काम गर्ने असारे विकासले पनि सडक भासिने, गुणस्तरीय नबन्ने स्थिति देखिन्छ ।

लेखक
एकातर्फ नियमनकारी निकायका केही समूह, व्यक्तिले नियमनका नामममा गरिने चेकजाँचले पनि दुर्घटना बढाएको छ । मनलाग्दो ढंगबाट सडकको अप्ठ्यारा ठाउँमा ट्राफिक प्रहरी बसेर चेकजाँच गर्ने गतिविधिले पनि झन् दुर्घटना बढ्दो देखिन्छ । ट्राफिकले अनावश्यकरुपमा चेकजाँच गर्ने, नियमकानूनको प्रवद्र्धन प्रचार नगरी सडकमा उभिदा सवारीचालक र ट्राफिक विच झैझगडा हुने पनि गरेका घटनाहरु देखिन्छ । केही सवारी चालकहरु विना गल्ती कारबाहीमा परेका वा पर्ने गरेका उदाहरण हामीमाझ छन् । ट्राफिक संकेत, चिन्हहरु सडकमा नराख्ने र गल्ती देखाई पैसा असुल्ने केही ट्राफिक प्रहरीको ज्यादतीबाट सवारी चालकहरु पीडित बन्ने गरेका पनि छन् । ट्राफिक प्रहरीले प्रयोग गर्ने शब्द चयनमा पनि अश्लिलता प्रयोग गर्ने, डरत्रास देखाउने, आत्मसम्मानमा ढेस पु¥याउने गलत नियत पनि देखिएको छ । त्यस्तै यात्रु बढी राख्ने र बढी पैसा कमाउने होडबाजीले तीव्र गतिमा सवारीसाधन चलाउने, विच बाटोमा नै रोक्ने, सिटबेल्ट नलगाउने, छतमा यात्रु राख्ने बानी अझै पनि सवारी चालकहरुमा देखिदै आएको छ । त्यस्तै विवाह, सामाजिक कार्य, विजय उत्सव, मृत्युशोकमा छतमा अधिक मान्छे बसेर यात्रा गर्ने गरेको पनि देखिन्छ । यसले थप दुर्घटना निम्त्याउन सक्ने जोखिम रहन्छ । सडकमा डियुटीमा खटिएका ट्राफिकको आँखा छल्ने, ट्राफिक नियम उल्लङ्घन गर्दा बहादुरी ठान्ने प्रवृत्ति अझै पनि हामी माझ रहिरहेका छन् ।
ट्राफिक नियम पालना गर्नुपर्ने नागरिकको दायित्व हो तसर्थ सबै जनमानसमा दायित्वबोध हुनु पर्दछ । बढी दण्ड जरिवानाले मात्र ट्राफिक व्यवस्थापन प्रभावकारी हुदैन । यसले त ट्राफिक प्रहरी माथी हेर्ने दृष्टिकोण प्रतिशोधपूर्ण हुन सक्छ । ट्राफिक प्रहरीले चालक अलमलिने, झुक्किने नियम बनाएर च्याँखे थाप्ने गलत नियतको पनि अन्त्य गर्नुपर्दछ । ट्राफिक कार्यालयले भ्रष्टाचार प्रति शुन्य सहनशीलताको सिद्धान्तलाई अक्षरसः पालना गर्दै भइरहेको ट्राफिक जनशक्तिको समूचित परिचालन गर्नु जरुरी छ । ट्राफिक नियम उल्लङ्घनकर्ताहरुलाई गरिने कानूनी कारबाहीमा निष्पक्षता, कडाईपना गरिनु उपयुक्त हुन्छ । त्यस्तै ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणका लागी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने, स्कूल, विश्वविद्यालयहरुमा ट्राफिक व्यवस्थापन सम्बन्धी पाठ्यक्रमको विकास गर्ने, समुदायहरुमा तालिमहरु प्रदान गर्नु अपरिहार्यता छ । चालक तथा सवारी साधनको स्वास्थ्य र यान्त्रिक परिक्षणलाई अनिवार्य गराउनु आवश्यक छ । आदेशमूलक तथा प्रतिबन्धात्मक ट्राफिक चिन्हहरुलाई चालक, यात्रुले देख्ने बुझ्ने गरी सडकका छेउछाउमा राख्नुपर्दछ । तिव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले प्रयोग गर्ने स्पिड गन, मदिरासेवन गरे नगरेको पत्ता लगाउने यन्त्र ब्रेथलाइजर, जेव्राक्रस र लेनको प्रयोग अनिवार्य बनाउनु पर्छ । चालकलाई सचेत र संवेदनशिल बनाउन बेलाबखतमा तालिम तथा गोष्ठिको आयोजना गर्नु जरुरी छ ।
सवारी चालक अनुमति प्राप्त गर्ने योग्यता, परिक्षा प्रणाली, वर्गीकरण, नवीकरण, निलम्बन तथा खारेजी जस्ता व्यवस्थालाई उपयुक्त मापदण्ड एवं ऐनहरु तर्जुमा गरी कार्यान्वयन गर्नु पर्दछ । ट्रायल परिक्षण प्रणालीले सवारी चालकको वास्तविक क्षमता, आधारभुत सीप परिक्षण गर्ने एक प्रभावकारी माध्यमको रुपमा विकास गरेको छ । सवारी साधनमा जिपियस, विद्युतिय नक्सा र क्यामेरा जडान गर्दा सवारी दुघर्टना न्यूनीकरण हुने देखिन्छ । सवारी र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ कार्यान्वयनमा ल्याइएको छ । संयुक्त राष्ट्र संघको महासभाबाट सडक सुरक्षाका लागि दोश्रो कार्य दशक २०२१–२०३० सम्बन्धी प्रस्ताव परित गरि नेपालले यसको मुल मर्मलाइ आत्मसात गरी सडक दुर्घटना न्यूनीकरणमा जोड दिदै आएको छ ।
केही वर्ष देखी चल्दै आएको राइड सेयरीङ्गबारे कानुन निर्माण गरि व्यवस्थित बनाउन आवश्यक छ । ट्राफिक व्यवस्था अस्तव्यस्त हुदा ध्वनी, वायु प्रदुषणका असर देखिने हुदा त्यसको कुशल व्यवस्थापन हुनु जरुरी छ । ट्राफिक व्यवस्थापनमा जनसहभागिता र संलग्नतालाई प्रोत्साहन गर्दै जनचेतनालाई अभिवृद्धि गर्नु जरुरी छ । विगतमा भएका दुर्घटनाहरुको अध्ययन, अनुसन्धान तथा सर्वेक्षण प्रतिवेदनले दिएका सुझाबलाई मनन् गर्दै कार्यान्वयन गर्नु गराउनु पर्छ । आजभोली ट्राफिक प्रहरी सम्बन्धी विभिन्न मोबाइल एप्सहरु चलनचल्तिमा रहेका छन् । त्यसको प्रयोगलाई प्रोत्साहित गर्नु पर्दछ । सडकको पुर्वधारलाई स्तरोन्नती गरी ट्राफिक जरिवाना पुनरावलोकन गर्दै व्यवहारिक पक्षलाई ध्यान दिनु जरुरी छ । नागरिकले पनि सडक नियम पालना गरी सभ्य नागरिकको पहिचान दिलाउनु पर्दछ । ट्राफिक सम्बन्धी ऐन कानूनहरुको न्यूनताले सर्वसाधारण र ट्राफिक विचको असामञ्जस्यता, असमझदारी बढ्दै गएको हुनाले यस सम्बन्धी समय सापेक्ष, व्यवहारिक ऐन कानूनको निर्माण गर्नु आजको टड्कारो आवश्यकता देखिएको छ । ट्राफिक व्यवस्थापनले सहरको सौन्दर्यता, जनचेतनालाई झल्काउने हुदा यसले प्रभावकारी कार्यान्वयन गर्नु आवश्यकता देखिएको छ । ट्राफिक सेवा ठूला व्यस्त सहर उपत्यकामा मात्र नभई ग्रामीण भेगमा समेत आजभोली आवश्यताको महशुस भईरहेको छ । तसर्थ ट्राफिक सेवा सबै स्थानीय तहमा उपलब्ध गराउनु पर्नेमा औचित्यपूर्ण हुन सक्छ ।





