आलेखको सुरुवात
नेपाल पत्रकार महासंघ शाखा बागलुङले स्थापनाकाल पश्चात रजत जयन्तीको सन्दर्भमा बागलुङ मिडिया मेला २०८२ गर्ने सामाजिक सञ्जाल र समाचारबाट जानकारी पाएपछि त्यसमा अनिवार्य रुपमा सक्रिय पुर्ण रुपमा सहभागिता जनाउने सोच बनेको थियो । स्मारिका प्रकाश गर्ने जानकारी समेत पाएपछि त झन् त्यसमा सानोतिनो मिडिया मेला सम्बन्धी लेख, रचना, कविता, संस्मरण तथा निबन्धहरु लेखी प्रकाशन गर्ने सोच थियो । मोफसलमा मिडिया मेला हुने काम बहुत ठुलो महत्वको अवसरका रुपमा मैले लिए । किनकी त्यस्ता बौद्धिक, साहित्यीक महोत्सव, सङगोष्ठी, सेमिनार, ज्ञान सम्मेलनमा सहभागी हुनका लागि मेरो रुचि र समय मिलेमा पोखरा, काठमाडौंमा थुप्रै पटक गएको छु । त्यस्तै प्रकृतिको कार्यक्रम झन् बागलुङ नगरीमा आयोजना भएको सुर्वण अवसरको मौका गुमाउने कुरा भएन । फुर्सदको समयमा मैले युटुवहरुमा पोखरा, चितवन, कर्णाली उत्सव, जनकपुर साहित्य उत्सव, काठमाडौंमा भएका भिडियो रेकर्ड हेर्ने गरेको छु । त्यस्तै प्रकारका कार्यक्रममा प्रत्यक्ष सहभागी हुने थुप्रै कार्यक्रममा प्रत्यक्ष भावी योजना रहेका छन् । सकिन्छ भने आयोजक, बहस नोटकर्ता र सञ्चालक समेत हुने सोच रहेको छ ।
मिडिया मेलाको शिर्षकहरु
‘अबको पत्रकारिता’ शिर्षकमा कि नोट स्पिकर उज्ज्वल आचार्य निर्देशक सिएमआर नेपाल जर्नालिज्म एकेडेमीका निर्देशकले महत्वपुर्ण भाषण दिनुभयो । ‘जननी जन्मभुमिश्च’ शिर्षकमा जुनु पुन मगर, सामाजिक अभियन्ता आमाविहीनको आमा, अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली, भुवनसिंह विश्वकर्मा, लोकगायक, सर्जक, बसन्त थापाको प्यानल छलफलमा सहजकर्ता मोहराज शर्मा रहेका थिए । त्यसैगरी ‘मिडियामा सिमान्त आवाज’ भन्नेमा सहकर्ता सिर्जना पन्त र कुञ्जनी परियार, अधिवत्ता तथा दलित अधिकारकर्मीका बिचमा मात्र छलफल भयो । तर कार्यक्रम पुस्तिकामा जानकारी दिए जस्तो उजिर मगर, पुर्व महासचिव नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र दीपक सापकोटा, संयोजक कान्तिपुर दैनिकको कोशेली पत्रिकामा आवद्ध साथीहरुको सहभागीता हुन सकेन । कार्यक्रम खल्लो महशुस भयो कि जस्तो लाग्यो । किन अनुपस्थित हुनुभएको हो सो को जानकारी समेत दर्शकदिर्घामा आयोजकबाट हुन सकेन । समावेशी लोकतन्त्रको वकालत र पैरवी गर्नेहरु नै दुई जना महिलामा मात्र सिमित भएर ‘मिडियामा सिमान्त आवाज’ भन्ने शिर्षकमा छलफल केन्द्रित भयो । ‘न्यु मिडियाः नाम पनि, दाम पनि’ भन्ने शिर्षकमा छलफल हुँदा धेरै उत्सुकता जागेको थियो । अहिलेको युवा पुस्तामा आशाको किरण छर्ने खालको थियो । सोलो ट्राभलर सिर्जना सिज्जु, कन्टेन्ट क्रियटर, मनोरञ्जन पत्रकार वर्षा बस्नेत, सफ्टवेयर आर्किटेक्ट, डिजिटिल प्रणाली रणनीतिकार चिराग थापा र सहजकर्ता दिल शिरिषको भुमिका आजकलको सुचना र प्रविधिको युगमा डिजिटल प्रविधि र कृत्रिम बौद्धिकतामा केन्द्रित रहेको थियो । अहिलेको युगमा पहिले काम, अनि नाम र दाम पनि हुने कुराले सबैको मन छोएको थियो । युवाहरुको चाहना र इच्छा न्यु मिडिया भनिएको युटुव, सामाजिक सञ्जाल, वेवसाइटहरुका बारेमा जानकारी र छलफल भएको थियो ।

लेखक
‘पत्रकारिताः गिद्धे प्रेसदेखि एआई’सम्म नामक शिर्षकमा लोकान्तर अनलाइनका सम्पादक विमल गौतम, सिनियर लेक्चरर तथा पुर्व प्रधान सम्पादक राष्ट्रिय समाचार समितिका एकराज पाठक, टेकपाना अनलाइनका सम्पादक गोपाल साउद र कथालिका अनलाइनका सम्पादक सहजकर्ता दिल शिरीषले प्यानल छलफल गर्नुभएको थियो ।
‘बागलुङको भविष्यः कृषि, उद्यम कि पर्यटन’ शिर्षकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछाने र सहजकर्ता प्रकटकुमार शिशिर रहनुभएको थियो ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः अधिकार कि जिम्मेवारी’ शिर्षकमा वक्ताहरुमा केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका महासचिव र सहजकर्ता दिलिप पौडेल रहनुभएको थियो ।
‘पत्रकारिता शैलीः शिष्ट कि आक्रामक’ भन्ने शिर्षकमा पुर्व अध्यक्ष नेपाल पत्रकार महासंघ तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, मिडिया एशोसियसन नेपालका अध्यक्ष शुभशंकर कँडेल, सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सहजकर्ता भाषा शर्मा रहनुभएको थियो । तर चर्चित कार्यक्रमका प्रस्तोता गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठीको सहभागीता हुन सकेन ।
‘अन्यौल कि अनुभुतिः कहाँ छ स्थानीय सरकार’ शिर्षकमा वक्ताहरु बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, स्थानीय तहविज्ञ विजयराज पन्त, अभियन्ता तथा फोटो पत्रकार आरके अदिप्त गिरी र सहजकर्ता संगम घर्ती मगर रहनुभएको थियो ।
‘मोफसलका मिडियाः सबल कि संकटमा’ भन्ने शिर्षकमा वक्ताहरु प्रेस रजिष्ट्रार गण्डकी प्रदेशका विमला भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, ढोरपाटन दैनिक तथा ढोरपाटन न्युजका प्रधान सम्पादक हरिनारायण गौतम र सहजकर्ता कलम पौडेल रहनुभएको थियो ।
‘पत्रकार महासंघः अब कस्तो बनाउने, कसरी बनाउने ?’ शिर्षकमा वक्ताहरु पुर्व शाखा अध्यक्ष रामबहादुर जिसी र पुर्व शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारी तथा सहजकर्ता विजय राना रहनुभएको थियो । पुर्व शाखा अध्यक्ष राजेशचन्द्र राजभण्डारी र निवर्तमान शाखा अध्यक्ष नरेश कँडेलको सहभागिता हुन नसकेकोले कार्यक्रममा खल्लो महशुस भएको अवस्था थियो ।
मिडिया मेला २०८२ का सिकाइ
आगामी दिनमा स्थानीय सरकारमार्फत अन्य सरकारी तथा गैरसरकारी संस्थामार्फत समग्र बागलुङको विकास, सुशासन, मार्गचित्र, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि उत्पादन, रोजगारी, उद्योग, जलविद्युत, साहित्य, कलाका बारेमा प्यानलगत रुपमा छलफल हुने कार्यक्रमहरु नियमित रुपमा भइदिए कति राम्रो हुने थियो होला भन्ने चाहना र भावना विकास मनमा भएको छ । कति कार्यक्रमहरु राजधानी केन्द्रित हुने भएकोले मोफसलमा प्यानल छलफल कम मात्रामा हुने गरेको पाउन सकिन्छ । विभिन्न प्रशासनिक, इन्जिनियर, कलाकारिता, खेलकुद विधामा समेत सहभागीता जनाएर अगाडी बढ्न सकिन्छ कि भन्ने लागेको छ । मिडियामा कर्णाली उत्सव, सुदुरपश्चिम साहित्य उत्सव, नेपाल साहित्य महोत्सव लगायत थुप्रै कार्यक्रमहरु भएको पाउन सकिन्छ । ति कार्यक्रममा सहभागिता उल्लेख मात्रामा भएको पाउन सकिन्छ । म पनि काठमाडौंमा आयोजना भएका मेरा रुचिका साहित्यीक तथा अनुसन्धानमुलक लेख प्रकाशनको लागि भाग लिन बागलुङबाट समेत गएर सहभागिता जनाएको छु । बागलुङ मिडिया मेला २०८२ मा दुई दिनसम्म पुरापुर सक्रिय सहभागिता जनाएर धेरैभन्दा धेरै सैद्धान्तिक ज्ञान र शिक्षा हासिल गर्न सफल भए । प्राविधिक पाटोमा ज्ञान लिन र दक्ष हुन फिल्डमा नै जोतिनु पर्ने रहेछ । आगामी दिनमा मलाई पनि मोबाइल, क्यामेरा, भिडियो सम्पादन, कन्टेन्ट क्रियटर, घुमन्ते, लेखक, अडियो सामाग्रीहरु उत्पादन गरेर मैले नै सञ्चालन गरेको कथा यात्रा नेपाल नामक युटुव च्यानलमार्फत प्रशारण तथा प्रकाशन गरेर आगामी दिनमा न्यु मिडियाको सारथी बन्ने सोच र योजना बुन्न मैले थाली सकेको छु । खासमा मैले युटुव च्यानल विगतमा मैले लेखेका कविता, लेख, संस्मरण, विचारमुलक र उत्प्रेरणामुलक लेखलाई अडियो तथा भिडियो सामाग्री बनाएर युटुव च्यानल कथा यात्रा नेपालमार्फत प्रशारण तथा प्रकाशन गर्ने योजना मुताविक खोलिएको हो । तर विस्तार अहिले सामुदायिक विद्यालयहरुको परिचय र शैक्षिक योगदान, पिएचडी तथा विद्यावारिधी उपाधी हासिल गर्नुभएको व्यक्तिहरुको व्यक्तित्व र कृतित्वसहित योगदानका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।
मिडिया मेलामा भएका भेटघाट, भलाकुसारी, फोटो सेसन, फोटो प्रर्दशनी, भिडियो रेकर्ड, छापा मिडियामा प्रकाशन भएका सामाग्रीहरु, सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारलाई सहि र अध्ययनशिल मानिसहरुका लागि पठनीय सामाग्रीहरु बनेको छ । बढ्दो डिजिटल युगमा प्रवेश गरेको समाजमा चोटिलो र प्रभावकारी सामाग्रीहरु सिक्ने र बुझ्ने इच्छुकहरुका लागि पाठशालाको रुपमा चौतारी बनेको छ । सिक्ने निरन्तर प्रक्रिया र आजिवनमध्ये धेरै अनुभव, सिकाइ र अध्ययनबाट खारिएका शब्दरुपी शक्तिका स्रोतहरु मिडिया मेलामा पोखिएका छन् ।
आगामी दिनमा पत्रकार महासंघको योजना
मिडिया मेलामा सहभागीहरुसँग तुलनात्मक रुपमा कम संख्यामा भएको हो कि भन्ने आभास मिलेको थियो । हल भरिभराउ हुनुपर्नेमा कार्यक्रमको अन्तसम्ममा निकै कम मात्रामा सहभागी हुनुले कार्यक्रमको महत्व र आवश्यकता नबुझेको हो कि भन्ने लागेको थियो मलाई । साथै, कार्यक्रममा प्यानल छलफलमा मिडियामा रेडियो एफएमका बारेमा कम चर्चा र छापा मिडियाका बारेमा समेत कम बहस भयो कि भन्ने लागेको छ । एफएम रेडियोको बारेमा एकदुई जनाको छलफल राख्दा राम्रो हुने थियो । साथै, चर्चित प्यानल छलफलका लागि कार्यक्रम पुस्तिकामा नाम उल्लेख गरेका तर भौतिक रुपमा उपस्थित हुन नसकेका बारेमा जानकारी सामान्य एक मिनेटमा जानकारी दिएको भए हलमा उपस्थित मानिसहरु जिज्ञासु हुन पाउने थिएनन् । छलफल कार्यक्रमको प्यानलको समयमा जति नै समयको जनाउ दिए पनि निश्चित समयमा समापन भने भएको पाइएनन् । तर छलफलका विषयवस्तु लामो समय लिएपनि बहुत चर्चायोग्य र दर्शकदिर्घाबाट सुन्न लायक नै थियो । सहभागीहरुको प्रश्न सोध्ने उत्साह र जोश कम भएको हो कि भन्ने लागेको थियो । प्रश्न सोध्ने कला र जिज्ञासु पाठकहरुको कम सहभागिता रहेको थियो । मिडिया मेला २०८२ जस्तै कार्यक्रम अरु सरकारी, गैरसरकारी लगायत शैक्षिक, साहित्यीक लगायतका विषयमा आगामी दिनहरुमा बागलुङ बजारमा हुनुुपर्छ भन्ने मान्यता र सोच धेरै सहभागीहरुको दिमागमा आएको हुनुपर्छ । हामीले काठमाडौंका धेरै कार्यक्रमहरु युटुव च्यानलहरुमा हेर्ने गरेपनि प्रत्यक्ष सहभागिता जनाउने काम बागलुङेहरुले कम मात्रामा मौका पाएका छन् । पत्रकार महासंघले आगामी दिनहरुमा सकिन्छ भने स्थानीय तहसँस समन्वय गरेर स्थानीय तहको नै आवाज प्रवद्र्धन गर्ने गरी गर्न पाएमा राम्रो हुने थियो ।
वर्षैपिच्छेका कार्यक्रमले पत्रकार महासंघलाई जिवन्त पनि राख्न सक्छ । मिडियाका विषय वस्तुका अलावा अर्थिक, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, पठन संस्कृति र सक्तिकरणका सवालमा आगामी योजना बनाउन सकेमा पक्कै असल अभ्यास हुने थियो । समाज सुधारका लागि पत्रकारिताको योगदान अग्रपंक्तिमा हुन्छ । पत्रकार राज्यको चौथो अंगका रुपमा समेत परिभाषित रहेको छ ।
मिडिया बहसका छलफल र प्रस्तुतीलाई शिर्षक र सहजकर्ताको प्रश्न एकातिर तर जवाफ अर्कोतिर हुने निर्थक प्रस्तुतीलाई छिनोफानो गरेर पहिले नै सहभागी नगराउँदा राम्रो हुन्छ । साथै, कुनै कुनै बहस त जुन उत्सुक्कता र स्तरीय होला भनेर सोचिएको हुन्छ । त्यो भन्दा पनि तल्लो स्तरको पाउँदा खल्लो महसुस हुने गरेको अुनुभुति भयो । बागलुङको इतिहासमा दस्तावेजीकरण गर्न लायक कार्यको थालनी भएको अनुभव मलाई भएको छ ।
अन्तमा
बागलुङ मिडिया मेलाले इतिहासमा गर्विलो पदचाप छोडेको छ । आगामी दिनमा थप नवप्रर्वद्धनात्मक, सृजनात्मक, सकारात्मक सोच शैलीका कार्यक्रम गरेर अगाडी बढ्नुको विकल्प छैन । पत्रकारिता पेशामा नवयुवाहरुको रुचि र व्यवसायिकता सुनिश्चितता गर्ने आन्दोलनका कार्यक्रमहरु निरन्तर रुपमा लिन आवश्यक छ । युवापिंढीको लगाव बढाउनका लागि तालिम, गोष्ठी, सेमीनार र तथ्यपरक पत्रकारितामा ध्यान पुर्याउन जरुरी छ । साथै, पत्रकारहरु मुल पेशा अर्कै गर्ने र पत्रकारीता पेशालाई वैकल्पिक पेशाको रुपमा राख्न खोजेकोले दक्षता र सिप विकासमा कम ध्यान पुगेको देखिन्छ । पत्रकारितालाई बढ्दो सामाजिक सञ्जालको प्रभाव र दबावले गाँजेको छ । प्रणालीमा आधारित हुनका लागि पत्रकारिताको आवाज यस्तै मिडिया मेलाहरुमार्फत बुलन्द गर्नुपर्छ । मिडिया मेला २०८२ बागलुङमा छलफल भएका विषवस्तु र बहस तथा कि नोटहरुले सिंगो देशको पत्रकारिताको आवाजको प्रतिनिधित्व गरेको थियो । भोलिका दिनमा यस्तै प्रकृतिका थप विषयवस्तुहरुका बारेमा मोफसलमा समेत हुने रहेछ भन्ने सन्देश र झलक दिएकोमा साधुवाद छ । मिडिया मेलाले छलफल, बहसले बागलुङको इतिहासलाई समेत उजागर गरेको थियो ।





