पोखरा/कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२, कोदीमा दोस्रो कोदो महोत्सव आयोजना गरिएको छ । पोखरा महानगरपालिकाले कोदो दिवसको अवसरमा महोत्व आयोजना गरेको हो ।
महानगरको ३ हजार ८ सय हेक्टरमा ४ हजार ८ सय टन कोदो उत्पादन हुने कृषि महाशाखाको तथ्याङ्क छ । महोत्सव सुरुआत गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवद्र्धन र खेती विस्तार जरुरी भएकोमा जोड दिए ।
‘रैथाने बालीका रूपमा कोदो खेती प्रवद्र्धन, विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध छ,’ उनले भने,‘कोदो उत्पादन वृद्धि, बजारीकरण र समर्थन मूल्य तोकेर कृषकको आय बढाउन पहल गरेका छौँ ।’ स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा उनको जोड छ ।
सो अवसरमा कोदो उत्पादक कृषकहरूलाई सम्मानसमेत गरिएको छ । १७ रोपनीमा कोदो खेती गर्ने पोखरा २२ का कृषक खगी घर्ती, ११ रोपनीमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गाबहादुर सुनार, १० रोपनीमा कोदो खेती गर्ने पोखरा २८ का कृषक शोभा भण्डारी र नौ रोपनीमा कोदो खेती गर्ने पोखरा २३ का कृषक होमबहादुर गुरुङलाई नगद र सम्मानपत्र प्रदान गरियो ।
कृषकहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सम्मान गरेका हुन् । महोत्सवमा कोदो रोप्ने प्रतियोगितासमेत भएको थियो । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियानगर क्षेत्रको बजारमा कोदोको माग बढिरहेका बेला उत्पादन भने घट्दै गएकाले प्रोत्साहनका कार्यक्रम ल्याइएको सुनाए ।
महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी गरिएको छ । कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकायसहित सर्वसाधारणको सहभागिता थियो ।





