बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा शिक्षकका लागि निःशुल्क एआई तालिम

पोखरामा शिक्षकका लागि निःशुल्क एआई तालिम


  • ढाेरपाटन संवाददाता
  • साउन १७ २०८३, आइतबार

पोखरा/  पोखराबाट स्किल ब्रिज एकेडेमीले आफ्नो सेवा सुरु गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर सुरु गरिएको एकेडेमीले आफ्नो पहिलो सेवाका रूपमा शिक्षकहरूका लागि ३ दिनसम्म एआई र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निःशुल्क तालिम आइतवार सम्पन्न गरेको छ ।

साउन १५ गते शुक्रवारदेखि सुरु भएको तालिममा करिब १ हजार शिक्षकले निःशुल्क तालिम लिएका थिए । तालिम तथा एकेडेमीको उद्‌घाटन गर्दै शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रमुख प्रकाश देवकोटाले तीव्र गतिमा परिवर्तित समयमा भएको ज्ञानको विस्फोटनलाई व्यवस्थित गर्नका लागि स्किल ब्रिजले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

शिक्षकले पेसागत जीवनलाई अर्थपूर्ण बनाउनका लागि सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्नु अनिवार्य रहेको उनको भनाइ थियो । उनले सरकारी क्षेत्रबाट मात्र शिक्षकको क्षमता वृद्धिका लागि आवश्यकता पूर्ति गर्न सम्भव नरहेको अवस्थामा स्किल ब्रिजले शिक्षकको क्षमता वृद्धिलाई केन्द्रमा राखेर आफ्नो सेवा सुरु गर्नु सुखद पक्ष रहेको बताए । उनले स्किल ब्रिजमा आबद्ध प्रशिक्षकहरू लामो समयदेखि प्रशिक्षणका क्षेत्रमा लागेका व्यक्ति भएकाले पनि यसको भविष्य र उद्देश्य असल देखिएको बताए ।

प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले आजका शिक्षक प्रविधिमैत्री नभए प्रगतिको बाटो नै छेकिने बताए । स्किल ब्रिजले स्वार्थभन्दा माथि उठेर शिक्षकहरूको विविध क्षमता विकासमा योगदान दिन सक्नेमा उनको विश्वास थियो ।

एकेडेमीकी अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरू केआर ढकाल, खेमराज पौडेल र रुपिन्द्र प्रभावीले सहजीकरण गरेका थिए । शिक्षकहरूका लागि सिकाइ सहजीकरणमा आवश्यक विभिन्न एआई टुलहरू र आइसिटीसम्बन्धी ३ दिनसम्म सहजीकरण गरिएको थियो ।

तालिम समापनका अवसरमा एकेडेमीका सञ्चालक समितिका सदस्य प्रेमनारायण ढकालले निकट भविष्यमै एकेडेमीले विभिन्न तालिम आयोजना गर्ने जानकारी दिए । कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई सञ्चालित एकेडेमीले शिक्षकको क्षमता विकासका लागि अनलाइन तथा अफलाइन मोडमा तालिम सञ्चालन, उद्‍घोषण तथा भाषणकला तालिम, डिजिटल सामग्री उत्पादन, विभिन्न पुस्तक प्रकाशनलगायतका उद्देश्य राखेको अर्की सदस्य ईश्वरी चुवाईँले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->