शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नामले चर्चित तर ओझेल परेको गन्तव्य

नामले चर्चित तर ओझेल परेको गन्तव्य


  • अमृत बास्कुने
  • साउन २० २०८३, बुधबार

म्याग्दी/  भालेबास्ने ताल कहाँ पर्छ ? सामान्य ज्ञानको पुस्तकको पाना पल्टाउँदा थाहा पाइहालिन्छ की यो ताल म्याग्दीमा छ ।

लोकसेवा आयोगको परीक्षामा सहभागी हुनेले यसबारे थाहा पाउने नै भए । तर बिडम्बना, नाम पढ्नेको संख्या लाखौं भएतापनि वास्तविक तालसम्म पुग्नेको संख्या भने निकै कम रहेको छ । जिल्लाको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा भन्छन, ‘नामले चर्चित तर ओझेल परेको गन्तव्य भएको छ भाले बास्ने ताल ।’

यो ताल कुनै पुस्तकको पानामा मात्रै सीमित नभएर म्याग्दीको मालिका गाउँपालिका–६ दुखु नजिकै प्रकृतिले सिंगारेको अनुपम सम्पदा हो । अप्ठेरो गोरेटो अनि जंगल, स्वच्छ वातावरण, जैविक विविधता, धार्मिक आस्था र मनोरम प्राकृतिक दृश्यले भरिपूर्ण मार्ग हुँदै पुगिने यो ताल आज पनि आफ्नै मौलिक स्वरूपमा रहेको दरवाङका व्यवसायी सन्तोष सुवेदीको भनाई छ । प्रचारप्रसार र पहुँचको अभावका कारण अपेक्षित रूपमा पर्यटक पुग्न नसके पनि यहाँ पुग्नेको उत्साह र खुशी भने अतुलनिय हुने उनले सुनाए ।

कागजमा चिनिएको सम्पदा व्यवहारमा भने अझै पनि एकान्तमै बसेको दुखुका युवा सौगात गुरुङ बताउँछन् । भालेबास्ने तालसम्म पुग्नका लागि अहिलेको अवस्थामा सामान्यतया दुखु गाउँ हुँदै र दुखु खोलाको किनारै किनार गरी दुई वटा मार्गबाट जान सकिन्छ । ताल पुग्न बेनी दरवाङ सडक खण्डको तोलाबाङदेखि बायाँतर्फ लागेर दुखु पुगेपछि त्यहाँदेखि ४५ मिनेटको पदयात्रा गर्दै पुग्न सकिने मालिका गाउँपालिका ६ का वडा अध्यक्ष पथबहादुर रोकाको भनाई छ । यसैगरी बेनी दरवाङ सडक खण्ड अन्तरगतको दुखु खोलाको मुख्य मार्ग पछ्याउँदै उकालो लागेर पनि ताल पुग्न सकिन्छ ।

जंगलको छहारी तथा खोला किनार तथा खोलाको दृष्याबलोकन गर्दै पहाडी पदमार्ग पार गर्दै पदयात्रीहरू अघि बढ्न सक्छन् । केही छड्के हिडे पछि केही सिडि सहितको कडा उकालो भए पनि त्यसपछि समथर तथा हल्का ओरालो–उकालो मिसिएको बाटोले यात्रालाई रमाइलो बनाइदिन्छ । बाटोभरि चराचुरुङ्गीको आवाज, वनस्पतिको सुगन्ध, चिसो हावा र प्रकृतिको सुमधुर वातावरणले यात्राको थकान नै बिर्साइदिन्छ । शुरुमा भएको उकालोले नयाँ यात्रा गर्नेलाई निकै कठीनाई भए पनि त्यस पछि भने तेश्रो सडकले भने सबैलाई सहज अनि उत्साहप्रद नै हुन्छ ।

परापुर्व कालदेखि नै उक्त ताल क्षेत्रमा बिहान सबेरै भालाहरूको बास्ने आवाजले सिंगो जंगल गुन्जायमान हुने भएकोले तालको नाम भालेबास्ने ताल रहन गएको जनविश्वास छ । पदयात्रापछि ताल नजिक पुगेपछि देखिने दृश्यले सबै थकान क्षणभरमै हराइदिने माथिल्लो दुखुका युवा जीवन पुनको भनाई छ ।

जंगलको बीच गहिरो खोँचमा रहेको सानो सुन्दर ताल, वरिपरिको हरियाली र स्वच्छ वातावरणले यो क्षेत्रलाई प्राकृतिक स्वर्गको अनुभूति गराउने उनले बताए । तालसम्म पुग्ने जोखिमयुक्त सडक अनि तालमा पुग्न पनि मोल्नुपर्ने जोखिमले गर्दा पनि त्यहाँसम्म पुग्ने हरेकलाई कौतुहलता रहीरहने युवा गुरुङको भनाइ छ । जोखिम पार गरेर पुगिने गन्तव्य अनि त्यसपछि पुगिने स्थानको गोप्यता पनि त सबैका लागि महत्वको कुरा हो । तालमै पुग्न सकिदैन तर तालबाट झरेको झरनाको मनोरम दृष्यले भने मनलाइ फुरुङ्ग बनाउँछ ।

कालिज, तित्रा तथा अन्य चराचुरङ्गीहरुको चिरबिर र आवाजले पनि सबैको मन लोभ्याउँछ । संरक्षणमुखी पर्यटन विकास गर्न सकिए यहाँको जैविक विविधता थप सुरक्षित रहने अपेक्षा गर्न सकिन्छ ।

भालेबास्ने ताल केवल प्राकृतिक गन्तव्य मात्र होइन, स्थानीयहरूको धार्मिक आस्थासँग पनि जोडिएको स्थल हो । ताल नजिकै मालिका गाउँपालिकाको सहयोगमा रेलिङसहितको मन्दिर निर्माण गरिएको छ । आन्तरीक तथा बाह्य पर्यटकहरु लाभान्वित हुने भन्दै गाउँपालिकाको ४ लाख र स्थानीय जनश्रमदान गरी चार लाख ३४ हजार एक सय एक रुपियाँ ९५ पैसाको लागतमा निर्माण भएको मन्दिरले आकर्षण बढाउने मात्रै नभएर आस्था पनि बढाएको छ । साथै जनश्रम तथा मालिका गाउँपालिकाको आर्थिक लगानीमा बनेको पदमार्ग तथा ताल नजिकै बनेको मन्दिरले पनि थप आकर्षण बनाएको छ ।

भालेबास्ने ताललाई केन्द्र बनाएर पर्यटकीय गतिविधि विस्तार गर्न सकिने प्रशस्त सम्भावना छ । गाडीको यात्रापछि करिब ४५ मिनेटको पदयात्रा पछि ताल नजिकै पुग्न सकिने भएकाले पनि साहसिक पदयात्राका रुपमा यसलाई बिस्तार गर्न सकेको खण्डमा निकै राम्रो हुने म्याग्दी उद्योग बाणिज्य संघ मालिका ईकाइका सल्लाहकार मोतिराज गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->