शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

खेतीपाती बँदेललाई, हन्डर जति किसानलाई

खेतीपाती बँदेललाई, हन्डर जति किसानलाई

नियन्त्रण गर्न नसके ढोरपाटन आसपासको जग्गा, जमिन बँदेललाई जिम्मा लगाइदिए हुन्छ; बँदेलले नै राज गरून् !


  • जीवन भण्डारी
  • साउन २१ २०८३, बिहिबार

नेपाली घरमा सर्वव्यापी परिकार । केही न केहीमा आलुले उपस्थिति जनाएकै हुन्छ । यस्तो मिलनसार हुन्छ कि सिमी, भन्टा, गुन्द्रुक, बन्दा, तामा जुनमा राख्यो मिलिदिन्छ । रोगीहरुले बाध्यताले खानुपर्ने तिते करेलामा समेत मिलीदिन्छ । कस्तो गुणी ?

हरेक घरमा कब्जा जमाएको आलु हाम्रो रैथाने बाली भने होइन् । यसले हाम्रो भान्सासम्म आइपुग्न लामो यात्रा पार गरेको छ । पेरुको आदिवासीहरुले खाने गरेको आलुलाई क्रिस्टोफर कोलम्बसले पन्ध्रौं शताब्दीमा विश्वभर फैलाएको विश्वास गरिन्छ । त्यसैले कतिपय आलुप्रेमीहरुले कोलम्बसलाई विश्वव्यापीकरण गरिदिएको श्रेय दिने गर्छन् । नेपालका उच्च हिमालदेखी तराईसम्म यसको उत्पादन गरिन्छ । रातो, सेतो, निलो भिन्न आकार प्रकारका हुन्छन् । हावापानी अनुसार आलुको रुपरंग र स्वादमा विविधता पाइन्छ । त्यस्तै पछिल्लो समय उत्पादक किसानहरुले जात विभाजन गरी अनेकथरिको न्वारन समेत गरिदिएका छन् । कुफ्री ज्वती, कार्डिनल, डेजिरे, खुमल रातो, खुमल सेतो आदि प्रचलित नाम हुन् ।

अब, ढोरपाटनमा एकाधिकार जमाएको रातो आलुको बारेमा चर्चा गरौं । अन्य जातको आलु जस्तो चिल्लो, आकर्षक हुँदैन । रुपरंग नमिले पनि अत्याधिक स्वादिलो हुन्छ । उक्त आलुको न्वारन गरिदिने कोही पण्डित भएनन् या नाम उच्चारण गर्न कसैलाई फुर्सद भएन ? अथवा स्थानीयले आलुको नामै बिर्सिए ? कोही–कोही स्थानीयले भोटे आलु भनेपनि अधिकांशले रातो आलु नै नामोच्चारण गर्ने गर्छन । यो आलु ढोरपाटनमा कहिले आयो भनि जान्नको लागि सन् ६० को दशकमा फर्किनुपर्ने हुन्छ । ढोर खाल्डोको (छेन्टुङ, भार्ते, पाखाथर) मा तिब्बतीयन शरणार्थीहरुले प्रवेश पाएसँगैे ढोर आसपास रातो आलुले आतिथ्यता पाएको हो । शरणार्थीहरु व्यवस्थापन स्विस एसोसिएसन फर टेक्निकल एसिस्टेन्स नामक गैरसरकारी संस्थाले गरेको थियो । उक्त गैरसरकारी संस्था स्विट्जरल्यान्डको हो । त्यसैले ढोरपाटन आसपास अधिपत्य जमाएको रातो आलुको ससुराली गाउँ स्विट्जरल्यान्डतीर हो की ? भन्ने मेरो ठम्याइ छ । रातो आलु फल्नभन्दा पहिले आलु नफल्ने भने होईन । कमै मात्रामा उत्पादन गरिन्थ्यो । जानकारहरुका अनुसार ढोर आसपास सेतो लामो आलु उत्पादन गरिन्थ्यो । रातो आलु कम समयमै फलिसक्ने अनि उत्पादन पनि राम्रो हुने भएकाले ढोरबासीहरुले ज्वाई सरह सम्मान गरेका हुन् ।

दुई दशक अगाडीसम्म ढोरपाटन वरपर सिजनको बेलामा मुख्य भोजनको रुपमा प्रयोग गरिने आलुले हिजोआज भान्सामा मुस्किलले स्थान पाउने गर्छ । ढोर अनि औलको बारीमा यत्रतत्र फल्ने आलुले बिस्तारै आफ्नो थातथलो छोड्दै छ । उत्पादनमा किन गिरावट आयो ? यो लेख त्यसै वरपर केन्द्रित हुनेछ ।

पाखाथरका ७४ वर्षिय अगुवा कृषक धनबहादुर अदैसँग सय मुरीभन्दा बढी आलु फलाएको अनुभव छ । अहिले उनले मुस्किलले तीस मुरीसम्म फलाउँछन् । उनले हिमाली भेगको लागि सिफारिस गरिएको डेजिडे, कारिनोल, कुप्रिज्योती जातको आलु पनि रोपे । उत्पादन राम्रै गरेका थिए तर उत्पादित आलुले बजार पाएन । अर्को कुरा स्थानीयले रुचाएनन् । केही समय पछि रोप्नै छोडिदिए । पुरानो रातो आलु रोप्न थाले । उनी भन्छन, ‘अहिले धेरै बारी जति बन्जर भईसके । राम्रो फलेको बेलामा बिक्री हुँदैन । पशुपालन कम हुँदै गयो, मल पुग्दैन । कहिलेकाहीँ धेरै झरी परेमा बोट नै मर्छ । रोग लाग्छ । बँदेल आतङ्क उस्तै छ ।’ आलु खेती सम्बधी कुनै निकायबाट तालिम नपाएको, बिपत परेको बेलामा कतैबाट राहत नपाएको उनको गुनासो छ । ‘आलु फल्ने ठाउँमा आलु खेती कसरी गर्ने त्यसको तालिम हुनुप¥यो । हामी आलु फलाउने किसानलाई धान रोप्ने तालिम किन चाहियो ? किसानको समस्या के छ ? नजिकको स्थानीय सरकार पुरै बेखबर छ । फलाएको आलुले बजार पाउन प¥यो । दक्ष प्राविधिकमार्फत माटो परिक्षण गरी कस्तो खालको आलु लगाउने सिफारिस हुनुपपर्छ’ उनी भन्छन् ।

लेखक

छेन्टुङका ७५ वर्षिय गंगबहादुर घर्तीले केही वर्ष पहिलेसम्म चालिस मुरीसम्म आलु फलाउँथे । अहिले उनको बारी बाँझो छन् । उनी भन्छन, ‘दुख गर्नसम्म गरेर बँदेलले आलु जति सखाप पारिदिन्छ । अनि त के खेती गर्नु ?’ बँदेलको कारण पीडित हुनेमा उनी एक्ला होईनन्, अहिले छेन्टुङमा धेरैको खेत बाँझै छ । किसानले आलु रोप्नै छोडिसके ।’ घर्ती थप्छन्, ‘शिकार आरक्षले बँदेल मार्न दिँदैन । पहिले त बाङ्गा–टिङ्गा प्रोथा, काँडा–झिक्रा बटुलेर बार गरिन्थ्यो । बँदेल जोगाइथ्यो । अहिले आरक्षले छुन दिँदैन । यो वर्ष रोपेको जति चैत महिनामा उम्रिन नपाउँदै बँदेलको बगालले खत्तमै पारिदियो । किसानले के खाने ? नबेरा पनि छोडेन । बारी रित्तै पारिदियो ।’

ढोरपाटन–९ भुजीका ४४ वर्षिय चिरन घर्ती केही वर्ष खाडीमा काम गरे । फर्किएर व्यावसायिक आलु खेती गरे । नार्क (नेपाल कृषी अनुसन्धान परिषद्) बाट तालिम लिए । जनकदेव, कार्डिनल, विजिरे, खुमल सेतो, खुमल उज्जल जातको बीउ लिई वि.स. २०६८ देखी खेती गरे । उत्पादन राम्रै भयो तर आलुले बजार पाएन । मोटरबाटोको सुबिधा नभएकाले उनले सोचेजस्तो व्यापार गर्न सकेनन् । उनले उन्नत जातको आलु उत्पदन गरी स्थानीयलाई वितरण गरे तर उनीहरुले रुचाएनन् । घर्ती भन्छन, ‘आलु राम्रो उत्पादन हुने या नहुनेमा मौसममा भर पर्नुपर्ने हुन्छ । मौसमले साथ दिए राम्रै फल्छ, नदिए बीउ जोगाउनै मुस्किल हुन्छ । राम्रो फलेको बेला व्यापारी घरमै आउँछन् । भाउमा एकरुपता हुदैँन । किसान सधै मर्कामा छन् ।’

भुजी वरपर बँदेल आतङ्क नहुने कुरै भएन । उनले बँदेलले क्षति पु¥याएबापत शिकार आरक्षले क्षतिपुर्ती दिने सुनेका छन् तर कानुनी प्रक्रिया झन्झटिलो भएकाले उनले शिकार आरक्षमा निवेदन दिन गएका छैनन् ।

डिजा गाउँकी असारी घर्ती मगरको बारीमा पुर्खाैली सेतो झिजे र रातो आलुका फूल धपक्कै फुलेको छ । आलुबारी लहलहाउँदो छ । लहलहाउँदो बनाउन उनले चैतदेखी रातदिन कुरुवा बसेर बँदेल धपाईन् । ‘चैतदेखी बँदेलबाट जोगाउनु पर्छ । भदौसम्म कान ठाडो गरी जागाराम बस्नुपर्छ । कुनैबेला हामीले खन्नुभन्दा पहिले नै रातीमा बँदेलले आलु खनिदिन्छ । बिहान बारी रित्तै पारिदिन्छ । हामीलाई दुख नहोस् भनी सघाउन आएको रे बँदेल’ उनले हाँसिमजाक गर्दै भनिन् । उनको हाँसोमा बढी पिडा देखिन्थ्यो । मौसमले साथ दिएको बेला नब्बे मुरीसम्म आलु फलाएको उनको अनुभव छ । शिकार आरक्षले दिन क्षतिपुर्तीबारे उनी पनि बेखबर छिन् । नवीको प्रेम बहादुर बिकको दुखेसो पनि असारी घर्ति मगरको भन्दा कम छैन् ।

ढोरपाटन शिकार आरक्ष कार्यालयका अनुसार, आरक्ष क्षेत्रभित्र जंङ्गली जनावरहरुले बालीनालीमा क्षति पु¥याएबापत दश हजारसम्म क्षतिपुर्ती दिने कानुनी व्यवस्था छ । तर अहिलेसम्म कसैले पनि क्षतिपुर्ती माग दाबी नगरेको आरक्ष कार्यालयले बताउँछ ।

क्षतिपुर्ती माग दाबी गर्नलाई कानुनी प्रक्रिया लामो हुन्छ । वडा कार्यालयको सिफरिस लिई कृषि कार्यालयको प्रविधिक मुल्याङ्कन् गनुपर्ने हुन्छ । शिकार आरक्षले निर्णय गरेपछि मात्रै भरपाई हुने कानुनी व्यवस्था रहेको छ । जुन प्रक्रिया झन्झटिलो हुन्छ । त्यसैले स्थानीयहरु आरक्षसम्म पुग्दैनन् ।

ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगर भन्छन् ‘विगतको तुलनामा शिकार आरक्षको व्यवस्थापनसँगै बँदेलको संख्या बढेको छ । सरकारले पनि बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ । तर सार्वजनिक ठाउँमा मार्न भने पाईदैन । यदि निजी सम्पतिमा बँदेलले क्षति पु¥याएमा घरेलु औजार लगायत पासोको प्रयोग गरी मार्न पाईन्छ । त्यसको लागि कानुनी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । शिकार आरक्षले नाउर र झारलसँगै टेन्डर खुलाई निर्धारित राजस्व तिरेर शिकार गर्न पाउने व्यवस्था छ । तर शिकारी बँदेल मार्न आकर्षित नै हुँदैनन् । ढोरपाटनमा मात्रै नभएर बोबाङ, मराङ, कुदुम, खानी, गाडीखोलासम्म बँदेल आतंकबाट स्थानीयहरु पीडित छन् ।’ बँदेल आतंक कम गर्न बाह्रै महिना शिकार खेल्न पाउने व्यवस्था गरेमा जनता र राज्यलाई फाइदा हुने उनको तर्क छ । भन्छन, ‘त्यसको लागि कानुन परिमार्जन गरी शिकार आरक्ष कार्यालयको मातहतमा शिकार खेल्ने व्यवस्था गर्नुपर्छ । ढोरपाटन शिकार आरक्षले नै बन्दोबस्ती मिलाइ खेल्ने व्यवस्था भएमा शिकार पर्यटन फस्टाउँछ । पर्यटनको गतिबिधी बढ्छ । आवस्यक कानुन या नियमावली स्थानीय र प्रदेश सरकारले बनाउन मिल्दैन । केन्द्र सरकारले चासो राख्नुपर्छ ।’ ढोरपाटनमा आलु उत्पादन तथा व्यवस्थापनमा स्थानीय सरकार चुकेको वडाध्यक्ष घर्ती स्वीकार गर्छन् ।

अन्त्यमा उल्लेखित पात्रहरु बँदेल आतंकबाट पीडित हुनेहरुमा केही प्रतिनिधी हुन् । बँदेलको कारण ढोरपाटनका छेन्टुङ, गुर्जघाट, पाखाथर, नौथरगाउँ, डिज, मस, काङ्ग, निसेलढोरका अधिकांश किसान पीडित छन् । कतिपयले खेती गर्न छोडिसके । बँदेलको संख्या दिन प्रतिदिन बढ्दो छ । एक दशक अघिसम्म ढोरपाटन आसपास देखिने बँदेल पछिल्लो समय औल (बेसी)मा बथान नै देखिन थालेका छन् । आलु, पिडालु, मकै, कोदो जस्ता बालीनाली स्यार्ने बेलामा बारी नै रित्ताइदिन्छ । बँदेलबाट हुने क्षति न्युनिकरण गर्नको लागि सरोकारवाला निकायबीच गहन बहस गरि समाधानको बाटो खोज्नु आवस्यक छ । होइन भने ढोरपाटन आसपासको जमिन बँदेललाई जिम्मा लगाइदिए हुन्छ । बँदेले नै राज गरुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->