बगलुङ/डेंगुका बिरामी अप्रत्यासित रुपमा बढेपछि खोज र नष्ट गर अभियानसँगै आम नागरिकलाई सचेतना कार्यक्रम समेत थालिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगरपालिका र अन्य सरोकारवाला निकायको अगुवाईमा यो अभियान टोलटोलमा लगिएको जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले बताए । जेठ महिनासम्म शुन्य रहेको डेंगु असार र साउनमा फैलिएको छ ।
कार्यालयका अनुसार, असारमा ८२ जनामा फैलिएको संक्रमण साउनमा १ सय बढीमा फैलिइसकेको छ । अहिलेसम्म २ सय ५० बढी बिरामीको उपचार भैसकेको धौलागिरि अस्पतालको तथ्यांक छ । पछिल्लो साता अस्पतालमा १४० बिरामी उपचारमा आएका छन् ।
‘अहिले दैनिक रुपमा बिरामी आउन थालेका छन्’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले भने, ‘धेरैलाई त सामान्य उपचारबाटै निको बनाइएको छ, कतिपय भने जटिल अवस्थाका पनि छन् ।’ पहिलो पटक संक्रमण भएकाहरुमा सामान्य देखिएपनि दोहोरिनेमा समस्या बढी आउने गरेको उनले बताए ।
बिहिबारदेखि बजार क्षेत्रका टोलमा पुगेर सरसफाइ गर्न नागरिकलाई प्रेरित गरिएको हो । त्यस्तै टायर पसल र मोटर ग्यारेज रहेका स्थानमा डेंगु सर्ने लामखुट्टे बढी भेटिने भएकोले सरसफाइमा ध्यान दिन विशेष अभियान चलाइएको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘सरसफाइ र सुरक्षा सर्तकता नै अहिलेको आवस्यकता हो’ खनालले भने, ‘बिहान बेलुकीको समयमा त झनै जोखिम छ ।’ लामो बाहुला भएको कपडा लगाउन, झाडीमा नजान र झुल टाँगेर मात्र सुत्न प्रेरित गरिएको उनले बताए ।
अस्पतालको तथ्यांक अनुसार असार यता १ हजार किटमार्फत डेंगु परीक्षण भैसकेको छ । ज्वरो आउने, टाउको दुख्ने र शरीर भारी भइ काम गर्न नसक्ने भएमा तत्काल परीक्षणमा आउन भन्दै सचेतना अभियान चलाइएको छ । नियमित रुपमा माइकिङ गरेर बस्ती बस्तीमा डेंगुको लक्षणबारे जानकारी दिने गरिएको छ ।




