पोखरा/संसदीय पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमै आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामासुजना पौडेल प्रथम भएकी छन् । ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्टता हाँसिल गरेकी हुन् ।
प्रतियोगितामा कुबेर पाण्डे दोस्रो र प्रशंसा शर्मा तेस्रो बने । अनिल यादवले सान्त्वना स्थान पाए । सहभागी कक्षा ११ र १२ का विद्यार्थीले संघीयताले नागरिकलाई अधिकार सम्पन्न बनाएको तर्क गरेका थिए ।
सुजनाले संघीयताले स्थानीय पहिचानको संरक्षण गर्ने बताइन् । ‘यसले स्थानीय स्तरका स्रोत साधनको परिचालन गर्दै राष्ट्रिय एकतालाई अझ मजबुत बनाएको छ,’ उनले भनिन् । प्रशंसा शर्माले व्यवस्थाभन्दा पनि कार्यान्वयन पक्ष मुख्य हुने विचार राखिन् ।
अनुप विक र स्वस्तिक परियारले भने संघीयता खर्चिलो भएको र भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गरे । संसदीय पत्रकार मञ्चका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक भरत कोइरालाले विद्यार्थीलाई संघीय शासन व्यवस्थाबारे सुसूचित गराउन कार्यक्रम गरिएको बताए । उनले भने, ‘कानुन निर्माण प्रक्रिया र संसद्को क्षेत्राधिकारबारे नयाँ पुस्तालाई जानकारी गराउनु हाम्रो उद्देश्य हो ।’ निर्णायक शिक्षकद्वयमाआत्माराम अधिकारी र किरण अधिकारी थिए ।





