बागलुङ/धौलागिरि अस्पतालमा नाक, कान, घाँटी र मनोरोगको उपचार हुने भएको छ । अस्पतालले विशेषज्ञको व्यवस्था गरी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
छालारोग विशेषज्ञसमेत थपेर सेवा दिन लागिएको अस्पताल अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए । २०८२÷०८३ का सेवा प्रवाहबारे आयोजित सार्वजनिक सुनुवाईमा अध्यक्ष शर्माले सबै खाले सेवा दिने अस्पताल बनाउन लागिएको जनाए ।
अस्पताललाई प्रदेशमा अब्बल बनाउन सबै खाले प्रयास भएको उनको भनाइ छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले गत वर्ष १ लाख २ हजार नागरिकलाई सेवा दिएको बताए । यो अस्पतालमा एक साताभित्र दोहोरिएर आएका बिरामीको तथ्यांक हटाउँदाको संख्या हो ।
अस्पताल व्यवस्थापन समितिको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा सुनुवाइ भएको हो । अघिल्लो वर्षसम्म अस्पतालमा विद्युतीय रेकर्ड पद्धति थिएन । अहिले स्नायु प्रणालीका समस्या र हृदयघात भएका बिरामीमात्र अस्पतालले रिफर गरेको डा तिवारीले जानकारी दिए । केही वर्ष अघिसम्म रिफरल अस्पतालका रुपमा चिनिए पनि अब भने विशेषज्ञ सेवा दिने अस्पताल बनेको उनको जिकिर छ ।
अस्पतालमा हाल १८ विशेषज्ञ चिकित्सकसहित ३० डाक्टर छन् । धौलागिरि अस्पताल तत्कालीन बागलुङ जिल्ला अस्पतालबाट स्तरोन्नति भई प्रदेश अस्पताल बनेको हो । १ सय ४० बेडबाट उपचार दिइरहेको अस्पतालले हाडजोर्नी, नाक कान घाँटी, स्त्री तथा प्रसूति सेवा, हेमोडायलायसिस, सुरक्षित गर्भपतन, आँखा उपचार केन्द्र, पाठेघरको क्यान्सर विरुद्वका उपचारसमेत दिएको छ ।
अहिले अस्पतालमा ६३ जनाले नियमित डायलायसिस सेवा दिंँदै आएका छन् । गत वर्ष अस्पतालमा ७ सय ८५ जना सुत्केरी भएकोमा २ सय ४८ जनाको शल्यक्रियाबाट प्रसूति गराइएको थियो । पछिल्लो समय अस्पतालले सेतो रगतको व्यवस्थापन गरेपछि सर्पदंश र डेंगुका बिरामीको उपचार पनि सहज भएको तिवारीले बताए ।
‘रेडक्रसले सेतो रगत उत्पादन सहितको रक्त सञ्चार सञ्चालन गरिदिएपछि हामीले अपरेसन र सर्पदंशको उपचार गर्न सकेका छौं’, तिवारीले भने, ‘स्वास्थ्य बिमाले पनि अस्पतालको गरिमा बढाएको छ ।’ एक वर्षमा यहाँका ७१ हजार ७ सय २९ जनाले स्वास्थ्य बिमाको सेवा लिएका छन् ।
पछिल्लो समय बाल उपचार केन्द्र, प्रसव पीडाबिनै प्रसूति गराउने इपियोएनेल्सीया सेवा पनि दिने गरिएको छ । भिडियो एक्सरे र ट्रमा उपचारको सेवा पनि सञ्चालन भएपछि दुर्घटनाका बिरामीसमेत रिफर गर्न नपर्ने भएको हो । अस्पतालमा प्रमाणपत्र तहको स्टाफ नर्स पढाइका व्यवस्थासमेत गर्न लागिएको अध्यक्ष श्रीप्रसाद शर्माले सुनाए ।
कार्यक्रममा पत्रकार महासंघ अध्यक्षराम थापा ‘अविरल’, उपाध्यक्ष सुवास आचार्य, अस्पतालकी सूचना अधिकारी शान्ति पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण कार्की लगायतले बोलेका थिए ।





