बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पुग्न कठिन चर्चित भालेबास्ने ताल

पुग्न कठिन चर्चित भालेबास्ने ताल

म्याग्दीको मालिका–६ मा पर्ने भाले बास्ने तालबारे धेरैले सुनेका छन्, तर यसको अनुपम सौन्दर्य नियाल्न भने निकै कठिन छ


  • अमृत बास्कुने
  • साउन २४ २०८३, आइतबार

म्याग्दी/नेपालका विद्यालय तथा लोकसेवा आयोगका सामान्य ज्ञानका पुस्तक पल्टाउने जो कोहीले पढेका हुन्छन् भाले बास्ने ताल कहाँ पर्छ ? अन्य जिल्लाकालाई ज्ञान कम हुनु स्वभाविक हो तर जुन जिल्ला तथा सम्बन्धित स्थानीय तहमै रहेका नागरिकलाई पनि त्यो स्थानको बारेमा थोरैमात्र थाहा छ ।

नाम पढ्नेको संख्या लाखौं भए पनि वास्तविक तालसम्म पुग्नेको संख्या भने निकै कम रहेको सुनाउछन् मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा । उनी भन्छन्, ‘यो नामले चर्चित तर ओझेल परेको गन्तव्य’ भन्न सकिन्छ ।’ भाले बास्ने ताल पुस्तकको पानामा मात्रै सीमित नभएर हिमाली जिल्ला म्याग्दीको मालिका गाउँपालिका–६, दुखु नजिकै प्रकृतिले सिंगारेको अनुपम सम्पदा हो ।

अप्ठेरो गोरेटो अनि जंगल, स्वच्छ वातावरण, जैविक विविधता, धार्मिक आस्था र मनोरम प्राकृतिक दृश्यले भरिपूर्ण मार्ग हुँदै पुगिने यो ताल आज पनि आफ्नै मौलिक स्वरूपमा रहेको दरवाङका व्यवसायी सन्तोष सुवेदीको भनाइ छ । प्रचारप्रसार र पहुँच अभावका कारण अपेक्षित रूपमा पर्यटक पुग्न नसके पनि त्यहाँ पुग्नेहरु यसको सौन्दर्यले मोहित बन्छन् ।

भाले बास्ने तालसम्म पुग्नका लागि अहिलेको अवस्थामा सामान्यतया दुखु गाउँ हुँदै र दुखु खोलाको किनारै किनार गरी दुई बाटा छन् । बेनी दरवाङ सडक खण्डको तोलाबाङदेखि बायाँतर्फ लागेर दुखु पुगेपछि त्यहाँदेखि ४५ मिनेटको पदयात्रा गर्दै ताल पुग्न सकिने मालिका गाउँपालिका ६ का वडाध्यक्ष पथबहादुर रोकाको भनाइ छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि सडक मार्ग प्रयोग गरी तोलाबाङबाट बायाँ लागेर दुखु पुगेपछि सुरु हुन्छ पदयात्रा । अर्को पदयात्रा भनेको बेनी दरवाङ सडक खण्ड अन्तर्गतको दुखु खोलाको मुख्य मार्ग पछ्याउँदै उकालो लाग्नुपर्छ । जंगलको छहारी तथा खोला किनार तथा खोलाको दृष्यावलोकन गर्दै पहाडी पदमार्ग पार गर्दै पदयात्रीहरू अघि बढ्न सक्छन् । केही छड्के हिडेपछि सिँढीसहितको उकालो भए पनि त्यसपछि समथर तथा हल्का ओरालो–उकालो मिसिएको बाटोले यात्रालाई रमाइलो बनाइदिन्छ ।

बाटोभरि चराचुरुंगीको आवाज, वनस्पतिको सुगन्ध, चिसो हावा र प्रकृतिको सुमधुर वातावरणले यात्राको थकान नै बिर्साइदिन्छ । सुरुमा भएको उकालोले नयाँ यात्रा गर्नेलाई निकै कठिनाइ भए पनि त्यस पछि भने तेस्रो सडकले भने सबैलाई सहज अनि उत्साहप्रद नै हुन्छ ।

परापूर्व कालदेखि नै उक्त ताल क्षेत्रमा बिहान सबेरै भालेको बासेको आवाजले सिंगो जंगल गुन्जायमान हुने भएकाले तालको नाम भाले बास्ने ताल रहन गएको जनविश्वास छ । पदयात्रापछि ताल नजिक पुगेपछि देखिने दृश्यले सबै थकान क्षणभरमै बिर्साउने माथिल्लो दुखुका युवा जीवन पुनको भनाइ छ । जंगलको बीच गहिरो खोंचमा रहेको सानो सुन्दर ताल, वरिपरिको हरियाली र स्वच्छ वातावरणले यो क्षेत्रलाई प्राकृतिक स्वर्गको अनुभूति गराउने पुनको भनाइ छ ।

तालसम्म पुग्ने जोखिमयुक्त सडक अनि तालमा पुग्न पनि मोल्नुपर्ने जोखिमले गर्दा पनि त्यहाँसम्म पुग्ने हरेकलाई कौतुहलता रहिरहने युवा गुरुङको भनाइ छ । तालमै पुग्न सकिँदैन तर तालबाट झरेको झरनाको मनोरम दृष्यले भने मन फुरुंङ बनाउँछ ।

कालिज, तित्रा तथा अन्य चराचुरङ्गीको चिरबिर र आवाजले पनि त्यो ठाउँमा पुग्ने जो कसैको मन जित्छ । प्राकृतिक जलस्रोत, वनस्पति र वन्यजन्तुको संरक्षणका दृष्टिले पनि यो क्षेत्र निकै महत्वपूर्ण मान्न सकिन्छ । संरक्षणमुखी पर्यटन विकास गर्न सकिए यहाँको जैविक विविधता थप सुरक्षित रहने अपेक्षा गर्न सकिन्छ ।

भाले बास्ने ताल केवल प्राकृतिक गन्तव्यमात्र होइन, स्थानीयको धार्मिक आस्थासँग पनि जोडिएको स्थल हो । ताल नजिकै मालिका गाउँपालिकाको सहयोगमा रेलिङसहितको मन्दिर निर्माण गरिएको छ । यसले ताल क्षेत्रमा आउने दर्शनार्थी तथा पर्यटकलाई सहज बनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित हुने भन्दै गाउँपालिकाको ४ लाख र स्थानीय जनश्रमदान गरी ४ लाख ३४ हजार १ सय १ रुपियाँ ९५ पैसा लागतमा निर्माण भएको मन्दिरले आकर्षण बढाउनेमात्रै नभएर आस्था पनि बढाएको छ ।

जनश्रम तथा मालिका गाउँपालिकाको आर्थिक लगानीमा बनेको पदमार्ग तथा ताल नजिकै बनेको मन्दिरले पनि थप आकर्षण बनाएको छ । भाले बास्ने ताललाई केन्द्र बनाएर पर्यटकीय गतिविधि विस्तार गर्न सकिने प्रशस्त सम्भावना छ । गाडीको यात्रापछि करिब ४५ मिनेटको पदयात्रापछि ताल नजिकै पुग्न सकिने भएकाले पनि साहासिक पदयात्राका रुपमा यसलाई विस्तार गर्न सकिने म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाइका सल्लाहकार मोतिराज गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->