लेखनाथ/लायन्स क्लब अफ पोखरा नेचुरल टाउनको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ३०, शिशुवामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
शिशुवा ज्येष्ठ नागरिक समाजको सहयोग तथा लाइफ केयर डाइनेस्टिसको प्राविधिक सहयोगमा आयोजित शिविरमा बाथ, नशासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचापलगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा स्वास्थ्य परामर्श दिइएको थियो । कार्यक्रम संयोजक एवं लायन्स क्लबका पूर्वअध्यक्ष सुन्दर शर्मा पौडेलले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई सहज बनाउन शिविर आयोजना गरिएको बताए ।
पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे । उनले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र सामाजिक सुरक्षाका लागि परिवार तथा समुदायको सहकार्य आवश्यक रहेको औंल्याए ।
लायन्स क्लब अफ पोखरा नेचुरल टाउनकी अध्यक्ष समीक्षा तिमिल्सेनाले ज्येष्ठ नागरिकप्रति सम्मान र सेवा गर्नु सबैको सामाजिक दायित्व भएको बताइन् । कार्यक्रममा लाइफ केयर अस्पताल पोखराका अध्यक्ष पुरुषोत्तम सुवेदी, डा विद्याभूषण ताम्राकार, क्लबका सचिव बुद्धिराम सुवेदीलगायतले बोलेका थिए ।





