बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

गर्भवतीको भिडियो एक्सरे सित्तैमा

गर्भवतीको भिडियो एक्सरे सित्तैमा

गर्भवतीले जाँच गर्न आउँदा ‘आमा घर’मा सित्तैमा खाने, बस्ने व्यवस्था गरेको अस्पतालले एक पटक भिडियो एक्सरे पनि निःशुल्क गरिदिने


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८३, मंगलबार
धौलागिरी प्रादेशिक अस्पताल बागलुङ । यो अस्पतालमा उपचार गराईरहेका सवै घाईते घर फर्केका छन् । तस्वीरः ढोरपाटन

बागलुङ/नीजि क्लिनिकमा गएमा हजारौं खर्च लाग्ने सेवा यहाँको धौलागिरि प्रादेशिक अस्पतालले निशुल्क दिन थालेको छ । गर्भ अवस्थामा शिशुको अवस्था थाहा पाउन अस्पतालले एक पटकका लागि निशुल्क भिडियो एक्सरे सेवा दिएको हो ।

आर्थिक अवस्था कमजोर भएर गर्भको शिशुको अवस्था थाहा पाउने अवसरबाट कोही बञ्चित नबनुन् भनेर यो कार्यक्रम ल्याएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले बताए । ‘नियमित प्रोटोकल पुरा गर्न लगाउने र एकपटक भिडियो गरेर शिशुको अवस्था पत्ता लगाउने काममा निशुल्क सेवा दिन थालेका हौं’ तिवारीले भने, ‘रकम अभावले नसकेकालाई त यो उपयोगी बन्ने छ ।’ भिडियो एक्सरे सेवा भने अस्पताल आउने जो–सुकै गर्भवतीका लागि एकपटक निशुल्क दिन लागिएको हो ।

आर्थिक अवस्था राम्रो भएर पनि कतिपयले चेतना अभावमा परीक्षण नगर्नेलाई पनि यो सन्देश लैजाने उनले बताए । अस्पतालले ५ लाख रुपैयाँको कोष राखेर निशुल्क सेवा दिन लागेको हो । त्यस बाहेक अस्पतालमा गर्भ परीक्षण गर्न आएकालाई नियमित आउने वातावरण बनाउने, सुत्केरी हुने समयमा बस्नेखाने समस्या पर्ने जो–कसैलाई अस्पतालभित्रै व्यवस्था गरिने उनले बताए ।

अस्पतालमा रहेको ‘आमा घरमा’ दश दिनसम्म बस्नेखाने व्यवस्थापन गरिएको छ । बरु त्यो व्यवस्थाबारे थाहा नपाएर कतिपयले डेरा खोज्ने गरेको बुझेपछि अस्पतालले प्रचार समेत गरेको छ । उक्त आमा घर व्यवस्थापनमा अस्पतालले ७ लाख बजेट विनियोजन गरेको छ ।
त्यस बाहेक अस्पतालमा हाइड्रोसिलको उपचार समेत निशुल्क दिने भएको छ ।

विशेषज्ञ अस्पतालमा सबै सेवा शुल्कको आधारमा मात्र हुने भएपनि अस्पतालले आधा दर्जन सेवामा भने निशुल्क व्यवस्था गरेको हो । ‘हामीले जिल्लाका सबै स्थानीय तहमा पुगेर महिलाको पाठेघरको क्यान्सर परीक्षण निशुल्क सेवा दिएका छौं’ तिवारीले भने, ‘सोही समयमा प्रसुती सम्बन्धी अन्य समस्याको पनि सेवा दिने लक्ष्य राखेका छौं ।’

हरेक महिना एकपटक स्थानीय तहमा पुगेर सहकार्य गर्ने र उपचार सेवा पनि दिने योजनामा अस्पतालले बजेट समेत व्यवस्था गरेको उनले बताए ।

त्यस बाहेक मृगौला पीडितलाई निशुल्क डायलायसिस सेवा समेत दिएको छ । यहाँ अहिले पनि ६३ जना नियमित बिरामीले डायलायसिस सेवा पाएका छन् । हिंसामा परेका महिलाको निशुल्क उपचार गर्ने ओसिएमसी कक्ष र सेवा पनि यहाँ संचालित छ । हरेक वर्ष यहाँ झण्डै १ सय पीडित महिलाको पनि निशुल्क उपचार गरिंदै आइएको ओसिएमसी शाखाकी प्रमुख देवी भट्टराईले बताइन् ।

झण्डै २ सय कुपोषित बालबालिकाको पनि निशुल्क उपचार र बढीमा ३ महिनासम्म पोषण पुनस्थापना केन्द्रमा राखेर उपचार पनि गराइन्छ । अस्पतालमा हाल १८ जना विशेषज्ञ चिकित्सकसहित ३० बढी डाक्टर कार्यरत छन् । जसका कारण जटिल प्रकारका अपरेसन समेत हुन थालेका छन् । गत आ.व.मा मात्रै बेहोस बनाएका २ सय ५० र अन्य ४ सय १५ अपरेसन समेत गरिएको थियो । २०१५ सालमा डिस्पेन्सरीबाट शुरु भएको यो अस्पताल अहिले गण्डकी प्रदेश स्तरीय बनेको छ ।

२ सय बेड संचालन गर्ने लक्ष्यमा रहेको अस्पतालमा अहिले १ स ४० बेडमा उपचार दिइएको छ । हाडजोर्नी, नाक कान घाँटी, स्त्री तथा प्रसुती सेवा, हेमोडायलायसिस, सुरक्षित गर्भपतन, आँखा उपचार केन्द्र, पाठेघरको क्यान्सर बिरुद्दका उपचार गर्न थालिएको छ । पछिल्लो समय बाल उपचार केन्द्र, प्रसव पिडाबिनै प्रसुती गराउने इपियोएनेल्सीया सेवा पनि दिने गरिएको छ । भिडियो एक्सरे र ट्रमा उपचारको सेवा पनि संचालन भएपछि दुर्घटनाका बिरामी रिफर गर्न नपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->