पोखरा/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत गृहमा गएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
मृतकमा विद्युतगृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल रहेका छन् । घाईतेमा गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा बेपत्ता भएका बरुवालको प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
मंगलबार बिहान माथिबाट आएको ढुंगासहितको सुक्खा पहिरोले १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहका उपकरणमा समेत क्षति पुगेको छ । अहिले विद्युत उत्पादन बन्द छ ।





