बागलुङ/२० वर्षदेखि अस्थायी प्रधानाध्यापकका भरमा चलेका बागलुङ नगरपालिकाका माध्यामिक विद्यालयमा स्थायी प्रधानाध्यापक नियुक्ति गरिने भएको छ । नगरपालिकाले सबै माविमा दरबन्दी मिलान गरी प्रअको तयारी गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
यसरी पठाइएका शिक्षकलाई निमित्तको जिम्मा दिइएको छ । विद्यालय व्यवस्थापन समितिले नगर शिक्षा अधिकारी सहितको बैठकले निमित्त प्रअले पेश गर्ने ५ वर्षे विद्यालय विकास प्रस्ताव पारित भएमा स्थायी प्रअ बनाइनेछ ।
धौलागिरि बहिरा माध्यमिक विद्यालय सञ्चालन भएको २ दशक भयो । अहिलेसम्म त्यहाँ मावि तहको दरबन्दी शिक्षक थिएन । शैक्षिक योग्यता पुगेका धेरै शिक्षक भए पनि दरबन्दी अनुसारका स्थायी थिएनन् । यसअघि शैक्षिक योजना र पाठ्य योजना बनाउने काममा प्राथमिक शिक्षकको भरमा गरिएको थियो ।
९ वर्षको कसरतपछि बागलुङ नगरपालिकाले हरेक विद्यालयमा कम्तीमा एक जना मावि तहका स्थायी शिक्षक पर्ने गरी दरबन्दी मिलान गरेको छ । नगर शिक्षा अधिकारी पोखरेलका अनुसार नगरभित्र ४८ जनामात्रै स्थायी मावि शिक्षक छन् । उनीहरुलाई यहाँका २४ विद्यालयमा कम्तीमा एक जना पर्ने गरी मिलान गरिएको छ । यो मिलानपछि मात्र यहाँका सबै माविमा स्थायी प्रअ बनाउने बाटो खुलेको हो ।
गत असारको नगरसभाले यो नीति बनाई राजपत्रमा सूचना प्रकाशित गरेपछि नगर शिक्षा समितिले दरबन्दी मिलान गरेको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले बताए । ‘बजार क्षेत्र ओगटेर बसेका शिक्षक चलाएर गाउँका मावि तहमा लैजान धेरै ग्राह्रो पर्ने रहेछ,’ गौतमले भने, ‘अहिले पनि कतिपय शिक्षक तोकेको स्थानमा जान नमानेर विद्यालयको अवस्था कमजोर भएको छ ।’
महा विद्याजन मावि रायडाँडा, बौडेचौर मावि सिगाना, भैरब मावि भकुण्डे जस्ता विद्यालयमा त पहिलो पटक मावि तहका शिक्षक पुगेका छन् । अब नगर शिक्षा समितिले ती विद्यालयमा स्थायी प्रअका लागि विज्ञापन खुलाउने तयारी गरेका छन् । यसरी खुलाउने विज्ञापनमा प्रअ बन्नका लागि स्थायी शिक्षकले योजना पेश गर्ने छन् । त्यो योजना अनुसारको ५ वर्षे कार्ययोजना बन्ने र शिक्षामा गुणस्तर कायम गर्न सकिने पोखरेलले बताए ।
मावि तहको प्रअ बन्नका लागि कम्तीमा ५ वर्ष माध्यामिक तहकै शिक्षक भइसकेको हुनुपर्ने प्रावधान छ । यो निर्णयले राजनीतिक आडमा सदरमुकाम बसेका शिक्षक गाउँ पुग्ने, गाउँका विद्यालयले पहिलो पटक मावि दरबन्दी पाउने अवस्था आएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । ‘हामीले सबै विद्यालयमा गुणस्तरीय शिक्षा पुगोस् भनेर धेरै पहल गर्दा बल्ल सफल भएका छौं’, श्रेष्ठले भने ।
बागलुङ नगरपालिकाभित्र १ सय ४ विद्यालय छन् । तीमध्ये ८५ सामुदायिक विद्यालय छन् भने १९ संस्थागत । अहिले विद्यार्थी कम भएका केही विद्यालय नजिकमा गाभिएका छन् भने केहीको कक्षा स्थगन गरिएको छ ।





