नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहालले देश सुगौली सन्धी यताकै ठूलो संकटमा रहेको दाबी गरेका छन् ।
आइतबार आयोजित कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा उनले मुलुक साँच्चिकै भयानक संकटमा रहेको जिकिर गरेका हुन् । …अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन,’ उनले भने।
अहिलेको संकट पार लगाउन पनि कम्युनिस्टहरूबीच एकताको खाँचो रहेको दाहालले औंल्याए । जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न पनि कम्युनिस्ट आन्दोलनको एकता जरुरी भएको उनको भनाइ छ ।
दाहालले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको सङ्घर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको बताए। उनले विगतका कमजोरीहरूप्रति राजनीतिक दलहरूले एक–अर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए। उनले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग प्रगाढ सम्बन्ध रहेको चर्चा गर्दै साझा निकासका लागि लाग्नसमेत आह्वान गरे।





