पोखरा/एक्कासि बहुलाएको भोटेकोशीले रसुवा, नुवाकोट र धादिङमा प्रलय नै ल्यायो। बाढीले आफैंसँग लपेटेकाहरूको शव भेटिने क्रम जारी छ; उद्धार नै सकिएको छैन । बेपत्ता, मृतक र सम्पत्तिको लेखाजोखै छैन ।
भोटेकोशीको आकस्मिक बाढीले नदी आसपासका दर्जनौं बस्ती बगर बनाएका बेला सेती किनारको सहर पोखरा र पोखरा उपत्यकाको जोखिमबारे सोच्नैपर्ने भएको छ । नसोचे ढिलो, चाँडै कल्पनै नगरेको महासंकट आई पर्न सक्छ ।
पोखरा अर्थात् ताल, पोखरीहरूको सहर । नेपाली शब्दकोषमा पोखराको अर्थ छः गण्डकी अञ्चलको सदरकुकाम, ठूलो पोखरी, तलाउ; ताल वा पोखरी निकटको बस्ती । यो ताल वा पोखरीले भरिएको सहरको पछिल्लो भूस्वरुपको सर्जक होः सेती नदी ।
यही सर्जक जुनसुकै बेला संहारक बन्न सक्ने जोखिम बोकेर बाँचेको छ पर्यटन राजधानी पोखरा । यसको झल्को १४ वर्षअघिको सेती बाढीले दिइसकेको छ । वसन्त ऋतुमा वैशाख २३ गते उर्लिएको सेतीले त्यो बेला खारापानी बजार निमेषमै बगर बनाएको थियो ।
बाढीमा परेका ४० जनाको शव भेटियो; ३२ जना सेतीको गर्तमा कतै छोपिए । बाढीअघि गुलजार खारापानी बजार अहिलेसम्म बौरिन सकेको छैन । पुनर्निर्माण र पुनस्र्थापनाको आशमा रहेका बाच्नेहरू पनि निराश हुँदै अन्यत्र लागिसकेका छन् ।
माछापुच्छ«े गाउँपालिका, पोखरा महानगर, तनहुँको शुक्लागण्डकी नगरपालिका हुँदै त्रिशूलीमा मिसिने सेतीको वहाव क्षेत्र नै पोखरा उपत्यका हो । स्वदेशी र विदेशीले रुचाएको सुन्दर यो उपत्यका बहुआयामिक जोखिम लिएर बसेको छ ।
सेती बग्ने माछापुच्छ«े गाउँपालिका क्षेत्रमा ठूला बस्ती कम छन् । आधा दर्जन जति हाइड्रो पावर छन् । गाउँपालिकाले सेती किनारबाट स्थायी संरचना बनाउन ५० मिटर मापदण्ड बनाएको उपाध्यक्ष सीता अधिकारी बताउँछिन् । तर, त्यो मापदण्ड पालन भएको देखिँदैन ।
सेतीनदीमा चौतर्फी दोहन र अतिक्रमण भएको क्षेत्र हो पोखरा महानगर । पोखरा महानगरका विभिन्न क्षेत्रमा सेती किनारमा घना बस्ती छन् । लाल्टिन बजार, रामघाट, दोबिल्ला जस्ता क्षेत्रका बस्ती नदी किनारमै छन् । बगर, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक लगायतका क्षेत्रमा सेती किनारबाटै मापदण्ड मिचेर बनाइएका भवनको भविष्य सधै जोखिममा छ ।
पोखरा महानगरले बनाएको भवन तथा पूर्वाधार निर्माण मापदण्डमा घर निर्माणका लागि सेती किनारबाट ३० मिटर छाड्नुपर्छ । अहिले पोखरा बजार क्षेत्रमा सेतीको मापदण्डमा सयौं बहुतले भवन देखिन्छन् ।सडको पानी, वर्षातको पानीदेखि ढल, फोहोरसम्मै सेतीमा फालिएको देखिन्छ ।
पोखरा महानगरका मेयर धनराज आचार्यलाई भोटेकोशी बाढीले नराम्ररी झस्काएको छ । आई पर्न सक्ने विपद्बारे सजग हुँदै उनी पोखराको भौगर्भिक अध्ययन चाँडै गरी आवश्यक रणनीति तय गरिने बताउँछन् ।
‘अहिले विदेशी विज्ञसहितको टोलीले पोखरा उपत्यकाको भौगर्भिक अध्ययन गर्दै छ,’ आचार्य भन्छन्, ‘त्यो अध्ययन अबको ३÷४ महिनामा सकिएला । यो बाढीपछि टोलीलाई चाँडै अध्ययन सक्न भनेका छौँ । अब ढिला गर्ने समय छैन ।’ फिर्केखोला र पोखरा बसपार्क क्षेत्रको अतिक्रमण हटाउन अभियान चलाएको महानगरले चाँडै सेतीको अतिक्रमण हटाउन पनि कदम चाल्ने तयारी गरेको छ ।
पोखरापछि सेती तनहुँको शुक्लागण्डकी नगरपालिका पुग्छ । शुक्लागण्डकीमा मेयर कृष्णराज पण्डितआफ्नो क्षेत्रमा सेतीको जोखिम क्षेत्रमा ठूलो बस्ती नभए पनि सावधानी अपनाइएको बताउँछन् । ‘हाम्रो वडा नम्बर ७ को टुँडा र वडा नम्बर ४, ८ र २ मा समस्याहरु छन्,’ उनले भने, ‘१०÷२० घर सेती कटानको जोखिममा छन् । उनीहरुलाई सुसूचित गराएका छौँ ।’
शुक्लागण्डकीले पनि सेती किनारबाट संरचना निर्माणका लागि ५० मिटर मापदण्ड तय गरेको छ । वरिष्ठ हिमअध्येता डा रिजनभक्त कायस्थ साढे ४ सय वर्षअघि पोखरा उपत्यकाको सहर पुरिने गरी माथि हिमालबाट यस्तै ठूलो हिमबाढी आएको भौगर्भिक तथ्यले देखाउने उल्लेख गर्छन् ।भूगोलविद् डा कृष्ण केसी पनि पोखरा अहिलेको भूस्वरुप आकस्मिक बाढीकै कारण बनेकोमा सहमत छन् ।
उनी सेतीको मुहानमा ठूला हिउँका ढिस्का खस्न सक्ने जोखिम बढेको सुनाउँछन् । ‘माछापुच्छ«े, अन्नपूर्ण तेस्रो र चौथोको बीचमा यस्ता हिउँका ढिस्का खस्दा सेतीको शिरमा पुग्छ,’ उनी भन्छन्, ‘त्यो निम्छरो भूभागमा खसेको ढिस्काले नदी थुनिन सक्छ, आकस्मिक बाढी आउन सक्छ ।’
त्रिभुवन विश्वविद्यालयस्थित विपत् अध्ययन केन्द्रका निर्देशक डावसन्तराज अधिकारीजलवायु परिवर्तनका कारण हिउँ पल्लिने क्रम बढेको जनाउँदै आकस्मिक बाढीको सम्भावना पनि उच्च भएको सुनाउँछन् । यो क्षेत्रको विस्तृत भौगार्भिक अध्ययन गर्दै उचित नीति बनाउनुपर्नेमा उनको जोड छ ।
‘पहिलो कुरा त क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्छ । जोखिम संवेदनशील भूउपयोग नीति बनाएर पूर्ण रुपमा पालना गर्नुपर्छ,’ उनी भन्छन्, ‘बाढी आउने क्षेत्र पहिचान गरी आइहाले के गर्ने भनी स्थानीय तहसम्म आपतकालीन केन्द्रहरु बताउनुपर्छ । ती केन्द्रमा जनशक्ति, प्रविधि, उपकरणको व्यवस्था गर्दै सर्वसाधारणलाई पनि सचेत बनाउनुपर्छ ।’ पोखरा उपत्यकाको समृद्धि यहाँको प्राकृतिक सुन्दरता प्रवर्धनबाटै सम्भव छ । यही प्रकृति बुझ्न सकिएन; विवेकपूर्ण उपयोग गर्न सकिएन भने फेरि खारापानी बाढी वा भोटेकोशी बाढीकै नियतिलाई टार्न सकिँदैन ।





