पोखरा/ गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा तेस्रो पटक बुधवार मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरी पुरानै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
गण्डकी सरकारबाट एमालेका ४ मन्त्रीले सामुहीक राजीनामा दिएपछि सत्ता जोगाउन मुख्यमन्त्री पाण्डेले देवकोटालाई मन्त्री बनाएका हुन् । देवकोटाले आजै सपथ लिए । उर्जामन्त्री नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई मन्त्रालयको जिम्मेवारी हेरफेर गर्दै भौतिक पूर्वाधार विकास तथा यातायाता व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पाण्डे नेतृत्वको सरकारमा देवकोटा तेस्रोपटक मन्त्री बनेका हुन् । पहिला ऊर्जा मन्त्रीको जिम्मा पाएका उनलाई तत्कालीन एकीकृत माओवादीले कारवाही गरेपछि पदबाट बाहिरिएका थिए । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि देवकोटाको मन्त्री पदमा पुनरागमन सम्भव भएको थियो ।
माओवादी केन्द्रको सिफारिसमा उनलाई सांसद पदबाट मुक्त गरिएपछि उनी मन्त्री पदबाट समेत हटेका थिए । तर सर्वोच्चले उनलाई सांसदका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेपछि मुख्यमन्त्री पाण्डेले उनलाई पुनः सरकारमा सामेल गराएका थिए ।
देवकोटाले जेन्जी आन्दोलनपछि मन्त्री पद त्यागे पनि काँग्रेसको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएका थिएनन् । एमाले बाहिरिए पनि राप्रपा र नेसपाको समर्थनमा कांग्रेसलाई सरकार बनाउन बहुमत पुग्छ ।
गोरखाबाट राजनीतिमा स्थापित देवकोटाको पछिल्लो राजनीतिक यात्रा निकै उतारचढावपूर्ण छ । उनी २०७९ सालको आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । सोही क्रममा उनले माओवादी केन्द्रको चुनावी चिह्न ‘गोलाकार भित्रको हँसिया हथौडा’ लिएर चुनाव जितेका थिए ।





