पोखरा/कतै गहिरा गल्छी, कतै साना–ठूला ताल; खोंचहरु बनाउँदै बगेका नदी, खोला; उत्तरतर्फ दर्जनौं हिमनदी र हिमाल ।
गण्डकी प्रदेशको यो भूगोलले एकसाथ २ सत्य दर्साउँछः पर्यटनको प्रचूर सम्भवना र विपद्को उच्च जोखिम । कारण सिर्जना भएको ६ घन्टाभन्दा कम अवधिमा आउने उच्च बहाव र ठूलो परिणामको बाढीलाई फ्लास फ्ल्ड अर्थात् आकस्मिक बाढी भनिन्छ ।
हिमालय क्षेत्रमा भएको अति भारी वर्षा, हिमताल विस्फोट, हिमनदी थुनिनु, बाँध भत्किनु, हिमचट्टान खस्नु जस्ता कारणले आकस्मिक बाढी आउने गरेको छ । गण्डकी प्रदेश पनि यस्तो बाढीको उच्च जोखिममा छ ।
कास्कीको सेती नदीमा २०६९ वैशाखमा आएको बाढीले ७२ जनाको ज्यान लियो । ३ वर्षअघि उर्लिएको मुस्ताङको कागखोलाले कागबेनी बजारलाई बगर बनाइदियो । पाँच वर्षअघि मनाङमा मस्र्याङ्दी नदी र तिमाङ खोलाको बाढीले तालगाउँ डुबायो; पुल, हाइड्रोसमेत बगायो ।
यी गण्डकीमा आएका आकस्मिक बाढीका पछिल्ला उदाहरण हुन् । भोटेकोशीमा आएको बाढीले रसुवा, धादिङ र नुवाकोटमा गरेको क्षति यकिन भइनसकेका बेला गण्डकी प्रवेशमा सम्भावित विपद्बारे गहिरो अनुसन्धान, व्यवहारिक कार्ययोजना र प्रभावकारी कार्यान्वयन जरुरी देखिएको छ ।
यहाँ रहेका कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मस्र्याङ्दी, मादी, दरौदी र त्रिशूली नदीको मुहान हिमाल हो । प्रदेशमा मोदीखोला, आँधीखोला, ज्याग्दी खोला, विजयपुर, फुस्रे, वाणगंगा, तिनउ जस्ता ठूला खोला पनि छन् । यी नदी र खोलामा आकस्मिक बाढीको जोखिम उच्च छ । यी खोला, नदी किनारका बस्तीमा बाढीको जोखिम निकै छ ।
गण्डकीको भूगोल, हिमालको संवेदनशीलता, वर्षाको प्रवृत्ति विश्लेषण गर्दा आकस्मिक बाढी आउने र त्यो बाढीले सोच्दै नसोचेको क्षति गर्ने सम्भावनासमेत उच्च छ । हिमअध्येता डा रिजनभक्त कायस्थ साढे चार सय वर्षअघि आएको ठूलो हिमबाढीले पोखराको अहिलेको स्वरुप बनाएको दाबी गर्छन् । कायस्थको दाबीसँग भूगोलविद् डा कृष्ण केसी पनि आंशिक सहमत छन् ।

डा केसी भन्छन्, ‘अन्नपूर्ण चौथो भाच्चिएर पोखरा उपत्यका बनेको भन्ने अनुसन्धान अझै प्रमाणित भइसकेको छैन । तर, पोखरा उपत्यकाको अहिलेको स्वरुप आकस्मिक बाढीले नै बनाएको हो भन्नेमा दुविधा छैन ।”
पछिल्लो समय सेतीको मुहानमा ठूला हिउँका ढिस्का खस्न सक्ने जोखिम बढेको छ । माछापुच्छ«े, अन्नपूर्ण तेस्रो र चौथोको बीचमा हिउँका ढिस्का खस्दा सेतीको शिरमा पुग्छ, नदी थुनिन सक्छ । यसरी थुनिएको नदी खोलिँदा आकस्मिक बाढी आउन सक्ने केसी औंल्याउँछन् ।
उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँ पग्लिने क्रम बढेको छ । भारी वर्षा हुन थालेको छ; पानीका मुहानहरू सुक्न थालेका छन् । यसबाट सिर्जना हुने भेलबाढी, पहिरो र प्राकृतिक प्रकोपबारे वैज्ञानिक अध्ययन जरुरी देखिएको छ ।
भूगर्भशास्त्री वसन्तराज अधिकारी सर्वप्रथम यसबारे अध्ययन गरी आवश्यक रणनीति बनाउनुपर्ने विचार राख्छन् । उनी भन्छन्, ‘प्राकृतिक विपत् रोक्न सकिन्न तर आफ्नो भूगोल अनुसार हामी बस्न र बाँच्न सक्छौँ । कहाँनिर कस्तो बाढी आउन सक्छ भन्ने पर्याप्त ज्ञान भइसकेपछि पूर्वतयारी त्यहीअनुरुप गर्न सकिन्छ ।’
जोखिम पत्ता लागेपछि स्थानीय सरकारले वार्षिक कार्यक्रम बनाएर पूर्वसूचना प्रणालीको व्यवस्थापन, जोखिम नभएका ठाउँमा मात्र बस्ती विकास गर्नुपर्नेमा उनको जोड छ । जलवायु परिवर्तनको केन्द्रबिन्दुमा गण्डकी रहेको विज्ञहरुले बताउँदै आएका छन् । यहाँका नदीहरु चीनको सीमाबाट सुरु भएर नेपाल हुँदै भारत पुग्छन् । त्यसैले गण्डकीका समस्या राष्ट्रिय सीमामा मात्र सीमित छैनन् ।
जलवायु विज्ञ डा सुवास अधिकारी प्रदेशले सबैभन्दा जोखिमपूर्ण क्षेत्र पहिचान गरी बाढी, हिमपहिरोको बाटोमा नयाँ बस्ती र महत्वपूर्ण पूर्वाधार निर्माण रोक्न कडा भू–उपयोग नियम लागू गर्नुपर्ने विचार राख्छन् । ‘हाम्रो विपद् प्रतिकार्यमा अन्तरदेशीय सहकार्य, वैज्ञानिक कूटनीति र क्षेत्रीय अनुसन्धान सञ्जालको सदुपयोग पनि जरुरी छ,’ उनी सुझाउँछन् ।
भोटेकोशी बाढीले नदी किनारका सहरहरूमा नयाँ सुरक्षा चुनौती देखाएको छ । सेतीले सिर्जना गरेको पोखरा उत्पत्यकालाई सेतीकै सबैभन्दा बढी जोखिम छ । पोखरा महानगरका मेयर धनराज आचार्य विपद्बारे सजग हुँदै उनी पोखराको भौगर्भिक अध्ययन चाँडै गरी आवश्यक रणनीति बनाउने योजनामा छन् ।
उनी भन्छन्, ‘अहिले विदेशी विज्ञसहितको टोलीले पोखरा उपत्यकाको भौगर्भिक अध्ययन गर्दै छ । त्यो अध्ययनलाई चाँडै सक्नतिर लाग्छौँ, सँगसँगै विपद् प्रतिरोधी योजना, पूर्वसावधानी र सचेतनाका कार्यक्रम पनि चलाउँछौँ ।’
कालीगण्डकी नदी किनारमा पनि दर्जनौं बस्ती छन् । नेपाल–चीन सीमामा मुल रहेको कालीगण्डकीको किनारमा मुस्ताङ सदरमुकाम जोमसोमसहित छुसाङ, जोमसोम, मार्फा, टुकुचे, सौरु, कोवाङ, लेतेका बस्ती छन् । म्याग्दीको बेनी, तातोपानी र पोखरेबगर, बागलुङ बजार, स्याङ्जाको चापाकोट जस्ता सहर काली किनारमा छन् ।
जोमसोम बजार पर्ने मुस्ताङको घरपझोङ गाउँपालिकाले यही भदौ ३० र ३१ गते घरपझोङ जलवायु २०८३ गर्दै छ । घरपझोङ गाउँपाकिला अध्यक्ष मोहनसिंह लालचन भोटेकोशी बाढीले मानसिक रुपमा तर्साएको जनाउँदै विपद्को पूर्वसूचना, प्रतिकार्य र जलवायु अनुकूलनका उपाय खोज्न सम्मेलन गर्न लागिएको उल्लेख गर्छन् । ‘जलवायु परिवर्तनको सबैभन्दा धेरै असर हिमाली क्षेत्रमा देखिएको छ । हिमाल, हिमतालहरुको अनुसन्धान, आवश्यक रणनीति निर्माणसहित विज्ञ र सरोकारवालासँग छलफल गर्न लागेका छौं ।’
जलवायु परिवर्तनको संकट नेपाल जस्ता देशका कारणभन्दा पनि ठूला र विकसित देशका गतिविधिले आएको हो । यो एजेन्डालाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो उठाउनैपर्ने भएको छ । प्रधामन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भनेका थिएः हामीमाझ कसरी यो विपद् आइलाग्यो ? विज्ञहरुले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन् ।’
प्रधानमन्त्रीले बने जस्तै ‘विपद्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ किनकि जलवायु परिवर्तन विश्वव्यापी योगदान हो; यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो ।’





