पोखरा / पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि मतदान सुरु भएको छ । संघको नेतृत्वका लागि ४ उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा छ ।
संघको ३६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन हुन लागेको हो । साँझ ५ बजेसम्म हुने मतदान विहान ८ बजेदेखि सुरु भएको हो । अध्यक्ष पदका लागि चार जना व्यवसायीहरु शोभा गौतम, बलराम आचार्य, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल प्रतिस्पर्धामा छन् ।
आचार्य र गौतमले प्यानलसहित उम्मेदवारी दिएका छन् भने बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि भिड्दै छन् । निर्वाचनमा अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले बताए । संघमा करीव २७ सय मतदाता छन् ।
यसअघि शनिबार संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक साधारण सभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले उद्घाटन गरेका थिए ।





