म्याग्दी/ हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–७ मलाङमा पहिरोका कारण अवरुद्ध भएको सडक तीन महिना हुँदा पनि सडक खुल्न सकेको छैन । गत जेठ १९ गतेदेखि गएको पहरोले अबरुद्ध भएको सडक अहिले सम्म पनि नखुलेको हो ।
लामो समयदेखि सडक सञ्चालनमा नआउँदा स्थानीयवासीलाई दैनिक आवतजावतदेखि खाद्यान्न तथा अन्य आवश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ । जेठमा पहिरो झर्न थालेपछि केही समय पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास गरीए पनि ठुलो पहिरोले दुई सय मिटर सडक नै बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । मलाङमा सडक बन्द भएपछि स्थानीयवासी पहिरोबाटै जोखिम मोलेर यात्रा गर्ने गरेका छन् । पहिरो पार गरेर रघुगंगा गाउँपालिका–७ का केही बस्तीका साथै वडा नम्बर ८ का सबै बस्ती तथा त्यस क्षेत्रमा निर्माणधिन तीन वटा जलविद्यूत आयोजनामा पुग्नुपर्ने भएकाले स्थानीय तथा जलविद्युत कम्पनिको दैनिकी नै प्रभावित भएको छ ।
पहिरोले बिरामी, वृद्धवृद्धा, बालबालिका तथा अत्यावश्यक कामका लागि आवतजावत गर्नुपर्ने नागरिकलाई समस्या भएको रघुगंगा–७ का वडा अध्यक्ष थकबहादुर पाइजाको भनाई छ । उनका अनुसार सडक अवरुद्ध हुँदा गाउँमा उत्पादित कृषि उपज बजारसम्म पु¥याउन र दैनिक उपभोग्य सामग्री गाउँसम्म लैजानसमेत समस्या भएको छ । ‘हरेक वर्ष पहिरो जान्छ र करिब तीन महिना सडक पूर्ण रूपमा रोकिन्छ,’ वडा अध्यक्ष पाइजाले भने, ‘गत वर्ष पनि सय दिनभन्दा बढी सडक अवरुद्ध भएको थियो । यस वर्ष पनि जेठको तेस्रो सातादेखि नै पहिरो खस्न थालेपछि समस्या सुरु भएको हो ।’
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार सडक खुलाउने प्रयास हुँदै आए पनि पहिरोको भूगोल जोखिमयुक्त हुनुका साथै वर्षायाममा लगातार पहिरो झर्ने भएकाले सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको हो । ‘सडक खुलाउने प्रयास गरिएको हो, तर भूगोल नै जोखिमयुक्त छ । वर्षामा माथिबाट पहिरो निरन्तर झर्ने भएकाले सफा गरेर पनि तत्काल पुनः अवरुद्ध हुने अवस्था छ,’ तिमिल्सिनाले भने ।
रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार सडक खुलाउन त्यस क्षेत्रमा निर्माणाधीन चारवटा जलविद्युत आयोजनालाई पत्राचार गरिएको छ । सडकको अवस्थाका कारण आयोजना निर्माणका लागि आवश्यक सामग्रीसमेत ढुवानी हुन नसकेको जानकारी आयोजनाका प्रतिनिधिहरूबाट प्राप्त भएपछि गाउँपालिकाले उनीहरूलाई छलफलका लागि बोलाएको उनले बताए । पहिरोका कारण सडक बन्द हुँदा निर्माणाधीन जलविद्युत आयोजनासमेत प्रभावित भएका छन् । सडक अवरुद्ध भएपछि आयोजनाका लागि आवश्यक निर्माण सामग्री तथा अन्य सामान ढुवानी गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ ।
‘अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको हो । तर करिब दुई सय मिटर चौडा पहिरो भएकाले एकैपटक हटाएर सडक सञ्चालन गर्न कठिन भएको छ,’ अध्यक्ष भण्डारीले भने । ‘आयोजनाहरूलाई पनि सडक आवश्यक छ । उहाँहरूका लागि पनि सामान ढुवानी हुन सकेको छैन । त्यसैले सबै पक्षसँग छलफल गरेर अब चाँडै सडक खोल्ने प्रयास गरिनेछ,’ अध्यक्ष भण्डारीले भने ।
मलाङको पहिरो हरेक वर्ष वर्षायाम सुरु भएसँगै पहिरो खस्ने र सडक बन्द हुने क्रम दोहोरिँदा स्थानीयवासीले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । सामान्य रूपमा केही दिन वा केही साताका लागि सडक बन्द हुनु एउटा समस्या भए पनि वर्षेनी तीन महिनासम्म सडक बन्द हुनुका कारण यहाँका बासिन्दाको दैनिक जीवन, शिक्षा, स्वास्थ्य, कृषि र व्यापारसमेत प्रभावित हुँदै आएको छ ।
स्थानीयका लागि अहिलेको मुख्य आवश्यकता सडक तत्काल सञ्चालनमा ल्याउनु रहेको ७ नम्बर वडा अध्यक्ष पाइजाको भनाइ छ । तर पहिरोको आकार र जोखिम हेर्दा केवल माटो पन्छाएर सडक खोल्ने प्रयासले मात्रै समस्या समाधान नहुने देखिन्छ । हरेक वर्ष उही स्थानमा पहिरो जाने भएकाले पहिरो नियन्त्रण तथा सडकको दीर्घकालीन सुरक्षाका लागि प्राविधिक अध्ययनसहित स्थायी समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
महिनौंदेखि सडक अवरुद्ध हुँदा मलाङ हुँदै आवतजावत गर्ने सर्वसाधारण अहिले पनि पहिरो पार गर्न जोखिम मोलिरहेका छन् । सम्बन्धित निकाय, गाउँपालिका र जलविद्युत आयोजनाहरूबीच समन्वय गरेर तत्काल सडक सञ्चालनमा ल्याउन आवश्यक छ ।





